युद्धविरामको घोषणा लगत्तै विश्व बजार उल्टियो : तेल सस्तो, सेयर आकाशियो

२०८२ चैत्र २५, बुधबार ०७:१४

काठमाडौँ ,चैत्र २५। अमेरिका र इरानबीच युद्धविरामको सहमति भएपछि विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय वित्तीय बजारमा सकारात्मक प्रभाव देखिन थालेको छ। रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यबाट तेल तथा ग्यासको निर्यात पुनः सुचारु हुने संकेत मिलेपछि विश्व बजारमा ऊर्जा र सेयरको मूल्यमा उल्लेख्य परिवर्तन आएको हो।

 

युद्धविरामको घोषणा लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १५ प्रतिशतले घटेको छ। ब्रेन्ट क्रुड र डब्लुटीआई दुवैको मूल्यमा आएको तीव्र गिरावटपछि महँगी घट्ने अपेक्षामा लगानीकर्ताहरू उत्साहित देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ।

 

यसैबीच अमेरिकी सेयर बजारमा प्रविधि क्षेत्रका प्रमुख कम्पनीहरू एनभिडिया, टेस्ला र इन्टेलको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ। तर कच्चा तेलको मूल्य घटेपछि ऊर्जा क्षेत्रमा संलग्न अमेरिकी कम्पनीहरूको सेयर भने करिब ३ प्रतिशतले घटेको छ।

 

युद्धविरामको प्रभाव एसियाली बजारमा पनि देखिएको छ। जापानको निक्की सूचकांक ५ प्रतिशतभन्दा बढीले बढेर खुलेको छ भने दक्षिण कोरियाको कोस्पी सूचकांक झन्डै ६ प्रतिशतले उकालो लागेको छ।

 

यसैबीच एसियाली बजारमा कारोबार सुरु हुँदा अमेरिकी डलर दुई सातायताकै न्यून बिन्दुमा झरेको छ। डलर कमजोर भएसँगै युरो, ब्रिटिस पाउन्ड, जापानी येन, अस्ट्रेलियन डलर र न्युजिल्यान्ड डलरको विनिमय दर भने बलियो भएको छ।

 

विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरूमध्यबाट आपूर्ति अवरोध हट्ने संकेतले विश्वव्यापी आपूर्ति शृङ्खलामा राहत पुग्ने र यसले अन्तर्राष्ट्रिय वित्तीय बजारलाई थप स्थिर बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?