मलंगवामा निर्माणाधीन घरको छत भत्किँदा दुई जनाको मृत्यु

२०८३ बैशाख ३०, बुधबार २२:४९

वैशाख ३०, सर्लाही। सर्लाहीको मलंगवामा घरको छतबाट खसेर दुईजनाको मृत्यु भएको छ । मलंगवामा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर दुई मिस्त्रीको ज्यान गएको हो ।

पानी ट्यांकी राख्ने छत ढलान गर्ने क्रममा उनीहरू खसेका थिए । घटनामा मलंगवामा नगरपालिका–२ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

छतसहित खसेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?