सेवाग्राहीमैत्री हुलाक सेवाका लागि सञ्चारकर्मी र कर्मचारीबीच अन्तरक्रिया

२०८३ जेष्ठ २६, मंगलवार २०:५९

जनकपुरधाम   :जलेश्वर  जिल्ला हुलाक कार्यालय, महोत्तरीले सेवा प्रवाहलाई थप चुस्त, दुरुस्त र जनमुखी बनाउने उद्देश्यका साथ जिल्लास्थित सञ्चारकर्मी र कर्मचारीबीच ‘क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ।

सोमबार जलेश्वरस्थित जिल्ला हुलाक कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा हुलाक सेवाको आधुनिकीकरण, सेवाग्राहीमैत्री वातावरण निर्माण र कर्मचारीको कार्यक्षमता अभिवृद्धिका विषयमा विस्तृत छलफल गरिएको हो।

कार्यक्रममा कार्यालय प्रमुख रामचन्द्र शाहले हुलाक सेवालाई समयसापेक्ष बनाउँदै प्रविधिमैत्री सेवा प्रवाहमा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सेवाग्राहीको विश्वास जित्न र सेवाको गुणस्तर बढाउन कर्मचारीको दक्षता र सञ्चार क्षेत्रको रचनात्मक सहयोग अनिवार्य छ।”

 

कार्यक्रमका सहजकर्ता राकेश चौधरीले हुलाक सेवाको वर्तमान अवस्था, सुधारका सम्भावना र आधुनिक कार्यालय व्यवस्थापनका विभिन्न आयामबारे प्रशिक्षण दिनुभएको थियो। सहभागी सञ्चारकर्मीहरूले हुलाक सेवाको साख जोगाउन र यसलाई प्रविधिसँग जोड्न निरन्तर सुधारको खाँचो औँल्याएका थिए।

सो कार्यक्रममा वरिष्ठ पत्रकार दशरथ भण्डारी, रौशन मिश्र, उपासना तिवारी, आरजे इरसाद, विष्णु गुप्ता, साजनकुमार यादव, सानोजकुमार यादव, विकास सिंह, वैभव कुमार र नागेन्द्र कर्णलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले हुलाक सेवाको आधुनिकीकरण र जनविश्वास बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए।

यस किसिमको समन्वयमूलक कार्यक्रमले हुलाक कार्यालय र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?