बत्ती जडानदेखि सीमा नाका सुधारसम्म, सामाजिक अभियन्ता–पत्रकारको पहल

२०८३ आश्विन २२, बिहीबार १७:५४

महोत्तरी : प्रहरी चौकीमा बत्ती जडानदेखि भिठामोड सीमा नाका सुधारसम्म, सामाजिक अभियन्ता र पत्रकारको पहल

महोत्तरी । “प्रहरी हाम्रो साथी हो” भन्ने नारालाई व्यवहारमै अनुभूति गराउने उद्देश्यसहित महोत्तरीको जलेश्वर नगरपालिका–३ स्थित पथरी प्रहरी चौकी, मलीवाराको भौतिक अवस्था सुधारका लागि पहल सुरु गरिएको छ।

केही दिनदेखि प्रहरी चौकीको अवस्थाबारे स्थलगत रूपमा जानकारी लिएपछि प्रहरीलाई दैनिक कामकाजमा सहज हुने गरी आवश्यक सहयोग गर्नुपर्ने आवश्यकता महसुस भएको सामाजिक अभियन्ता तथा पत्रकारहरूको टोलीले जनाएको छ। सोही क्रममा सामाजिक अभियन्ता तथा जलेश्वर नगरपालिकाका नगरप्रमुखका भावी उम्मेदवारका रूपमा प्रस्तुत हुँदै आएका विजयकुमार साह र पत्रकार अनिलकुमार निराला लगायतको पहल तथा जलेश्वर नगरपालिकाको सहयोगमा पथरी प्रहरी चौकीमा बत्ती जडान गरिएको हो।

चौकी परिसरमा प्रकाशको पर्याप्त व्यवस्था नहुँदा प्रहरीलाई रातिको समयमा काम गर्न समस्या हुने गरेको अवस्थालाई ध्यानमा राखेर बत्ती जडान गरिएको बताइएको छ। साथै, प्रहरी चौकीमा रहेको पुरानो बोर्डसमेत परिवर्तन गरिएको छ। चौकीको वातावरणमा सामान्य सुधार भए पनि यसले प्रहरी र स्थानीय नागरिकबीचको सम्बन्धमा सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सामाजिक अभियन्ताहरूले समाजमा आवश्यक देखिएका यस्ता साना–साना सुधारका कामलाई निरन्तरता दिने बताएका छन्। उनीहरूले कुनै एक व्यक्तिको प्रयासभन्दा पनि स्थानीय तह, प्रहरी, पत्रकार, सामाजिक अभियन्ता तथा स्थानीय नागरिकबीचको सहकार्यबाट मात्रै दीर्घकालीन परिवर्तन सम्भव हुने बताएका छन्।

भिठामोड सीमा नाकाको अवस्थाप्रति पनि ध्यानाकर्षण

यसैगरी, महोत्तरीको महत्वपूर्ण सीमा नाका भिठामोडको पूर्वाधार तथा सुरक्षा व्यवस्थापनको अवस्थाप्रति पनि टोलीले ध्यानाकर्षण गराएको छ। नेपाल–भारत सीमाको महत्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको भिठामोड क्षेत्र सुरक्षा तथा आवागमनका दृष्टिले संवेदनशील मानिने भएकाले यहाँका पूर्वाधारलाई व्यवस्थित र चुस्त राख्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ।

सीमा क्षेत्रमा सुरक्षा निगरानीका लागि विगतमा सीसीटीभी क्यामेरा जडान गरिए पनि नियमित मर्मतसम्भार तथा व्यवस्थापनको अभावमा कतिपय क्यामेरा जीर्ण अवस्थामा पुगेको गुनासो रहेको बताइएको छ। सीमा क्षेत्रमा जडान गरिएका सीसीटीभी उपकरणलाई समयमै मर्मत तथा पुनः सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको टोलीले औंल्याएको छ।

सीसीटीभी प्रणाली प्रभावकारी नहुँदा सीमा क्षेत्रमा हुने सम्भावित गतिविधिको निगरानीमा चुनौती उत्पन्न हुन सक्ने भएकाले सम्बन्धित निकायले यस विषयमा तत्काल ध्यान दिनुपर्ने सामाजिक अभियन्ता तथा पत्रकारहरूको भनाइ छ।

भिठामोडलाई व्यवस्थित र आकर्षक बनाउने लक्ष्य

भिठामोड सीमा क्षेत्रमा सडक, सरसफाइ, प्रकाश, सुरक्षा निगरानी, सूचना बोर्ड तथा अन्य आधारभूत पूर्वाधारको सुधार आवश्यक रहेको टोलीले जनाएको छ। सीमा नाकालाई व्यवस्थित, सफा, सुरक्षित र आकर्षक बनाउन स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायबीच समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ।

भिठामोड केवल सीमा पार गर्ने स्थान मात्रै नभई नेपाल–भारतबीचको सामाजिक, सांस्कृतिक, धार्मिक तथा पारिवारिक सम्बन्धको महत्वपूर्ण प्रवेशद्वारसमेत रहेको उनीहरूले बताएका छन्। त्यसैले यस क्षेत्रलाई व्यवस्थित बनाउनु स्थानीय विकाससँगै दुई देशबीचको सम्बन्धलाई समेत सम्मान गर्ने विषय भएको उनीहरूको धारणा छ।

विवाहपञ्चमीसँग जोडिएको विशेष महत्व

भिठामोडको धार्मिक तथा सांस्कृतिक महत्व विवाहपञ्चमीका अवसरमा अझ स्पष्ट रूपमा देखिन्छ। राम–सीताको विवाहसँग जोडिएको विवाहपञ्चमी पर्वमा भारतको अयोध्याबाट जनकपुरधाम आउने श्रद्धालु तथा जन्तीहरू यही सीमाक्षेत्र हुँदै नेपाल प्रवेश गर्ने परम्परा रहेको छ।

भारतबाट आउने श्रद्धालुहरूलाई नेपाल प्रवेश गर्ने क्रममा पहिलोपटक देखिने महत्वपूर्ण क्षेत्र भएकाले भिठामोडलाई व्यवस्थित र आकर्षक बनाउनु आवश्यक रहेको टोलीको भनाइ छ। भिठामोडलाई सफा, सुरक्षित र सुन्दर बनाउन सके यसले जनकपुरधामको धार्मिक पर्यटन तथा नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई समेत सकारात्मक रूपमा प्रस्तुत गर्न सक्ने उनीहरूको धारणा छ।

सामाजिक अभियन्ता तथा पत्रकारहरूको टोलीले भिठामोडलाई भविष्यमा अझ आकर्षक र व्यवस्थित सीमा नाकाका रूपमा विकास गर्ने उद्देश्यसहित आफ्नो तर्फबाट सम्भव सहयोग र पहल जारी राख्ने जनाएको छ।

प्रहरी चौकीमा बत्ती जडान र बोर्ड परिवर्तनदेखि भिठामोड सीमा नाकाको सीसीटीभी तथा पूर्वाधार सुधारको विषय उठाइनुसम्मको यो पहलले स्थानीय समस्या पहिचान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रयासका रूपमा आफूहरूले लिएको टोलीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?