जनकपुरधाम,२९ जेठ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआईक्यू) को मुद्दालाई फोटोमार्फत जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज फोटो प्रदर्शनी कार्यक्रम गरिएको हो । एलजीबीटीआईक्यू समुदायको पिडा,संघर्ष, कथा व्यथा र समुदायमा रहेको अवस्था तथा व्यवहारलाई झल्काउनका लागि फोटोहरु प्रदर्शन गरिएको हो ।
निल हिरा समाजले आयोजना गरेको कार्यक्रममा एलजीबीटीआईक्यू समुदायका व्यक्तिहरु आफैले खिचेको फोटोहरुलाई प्रदर्शनीमा राखेर सरोकारवाला निकाय, स्थानीय पालिका तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई अवलोकन गराई कार्यक्रम गरिएको छ ।
निल हिरा समाजका अध्यक्ष पिंकि गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिमा शिक्षा तथा संस्कृति मन्त्रालयका मन्त्री सारदा थापा, विषेश अतिथिमा अन्जना पंडित,अतिथिमा निति आयोगका उपाध्यक्ष नाथु प्रसार चौधरी, मिथिला नगरपालिका उप प्रमुख सुनिता बुढाथोकी, खेलकुद तथा समाजकल्याण मन्त्रालयका उप सचिव देव कुमारी खत्री र गृह सञ्चार कानुन मन्त्रालयका उप सचिव उतम खरेलको उपस्थिति रहेको थियो ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सरकारले बेवास्ता गरेको अवस्था छ । आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट नछुट्याएको भन्दै यसतर्फ सरकार गम्भीर नबनेको सुनौलो बिहानी समाज जनकपुरका अध्यक्ष प्रदिप यादवले बताए । उनले भने`हाम्रो समुदायलाई निती नियम र कानुन निर्माणमा अहिले पनि बेवास्ता गरेको देखिन्छ । दुई तीनवटा पालिकाले गरे पनि चाहिने जतिको लैङ्गिक नीतिनियम बन्न सकेको छैन । अझै पनि हामीले संघर्ष गरिरहेका छौँ ।´
अध्यक्षताको आसनबाट गुरुङले भनिन् ,”तस्बिरमा देखाएको दुख, पिडा,संघर्षभन्दा पनि हामी वास्तविक जीवनमा भोगिरहेका हुन्छौं। तस्बिरमा देखाएको दुख,पिडा वास्तविक कथाहरू जुन एउटा जीवन बोकेका छन । हाम्रो समुदायलाई संविधानमा सम्बोधन गरेको पाए पनि सरकारले आफ्नो तर्फबाट कुनै पहल नगरेको महसुस हुँदै छ । प्रदेश सरकारले हाम्रो मुद्दा कसरी हेरिरहेको छ? स्थानीय सरकारले हाम्रो सवालमा अगाडि बढ्न कस्तो कदम चाल्नुपर्ने हो? विषयमा ध्यानाकर्षण गराउनको लागि हामीले यस कार्यक्रमको आयोजना गरेका छौँ ।”
फोटो प्रदर्शनीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआईक्यू) समाजका व्यक्तिहरूलाई भोग्दै गरेको पीडाहरूलाई फोटो मार्फत दर्शाएको हो । जहाँ आफू यो समुदायका व्यक्ति भएको हुनाले व्यापार व्यवसाय गर्न संघर्ष गर्नुपर्ने ? आफ्नो समाजमा बलात्कृत हुने डर? बस पार्क/अस्पताल/स्कुल/सरकारी कार्यालयमा महिला र पुरुषको लागि छुट्टाछुट्टै लाइनहरू हुन्छ तर हाम्रो लागि कुनै व्यवस्था नीतिनिर्माण भएको छैन ? लगायत धेरै प्रश्न उब्जाउने खालका तस्बिरहरू प्रदर्शनीमा राखिएको थियो ।