काठमाडौं,१३ वैशाख । विद्यालय शिक्षा ऐन जारी लगायतका माग राख्दै काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई सरकार वार्तामा बोलाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरूलाई छलफलमा सहभागी हुन आग्रह गरेको हो।
मन्त्रालयले जानकारी दिएअनुसार वार्ता शनिबार बिहान ७:३० बजे हुने तय गरिएको छ। यसअघि शुक्रबार नै नेपाल शिक्षक महासङ्घलाई पत्राचार गरिए पनि भेटघाट सम्भव नभएकाले छलफल स्थगित भएको थियो।
चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको शिक्षक महासङ्घ अब सरकारले बोलाएको छलफलमा सहभागी हुने अपेक्षा गरिएको छ।
अब वार्ताबाट के निस्किन्छ भन्नेमा आन्दोलनरत शिक्षकहरू मात्रै होइन, आम अभिभावक र विद्यार्थीहरू पनि प्रतीक्षामा छन्।






