नयाँ प्रविधि ‘ईडीएलभिआरएस’बाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा मधेशका तीन हजार बढी हुलाकमार्फत पठाइयो

२०८३ आश्विन ४, आईतवार १२:४१

काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा लामो समयदेखि देखिँदै आएको समस्या र सेवाग्राहीको सास्ती अन्त्य गर्न सरकारले नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले गत साउन १ गतेदेखि लागू गरेको ‘विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली’ (ईडीएलभिआरएस) मार्फत छपाइ तीव्र पारिएको हो।

नयाँ व्यवस्थाअनुसार सेवाग्राहीको विवरण प्रणालीमा प्रविष्ट हुनासाथ सोझै सुरक्षण मुद्रण (सुरक्षा छापाखाना) मा पुग्नेछ। सुरक्षण मुद्रणले लाइसेन्स छपाई सम्पन्न गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयहरूमा पठाउनेछ। यसबाट नयाँ लाइसेन्स लिने तथा नवीकरण गराउने प्रक्रिया निकै द्रुत र सहज हुने विश्वास लिइएको छ।

पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित कार्यालयहरूमा पठाइसकिएको छ।

प्रदेश सरकारहरूले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफैँ पनि लाइसेन्स छपाइ गराउन सक्ने कानुनी व्यवस्था मिलाइएको छ।

सोही बमोजिम मधेश प्रदेशले आफ्नै व्यवस्थापनमा छपाइ गराइरहेको छ भने लुम्बिनी प्रदेश सरकारले पनि गत शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी छपाइ प्रक्रिया अघि बढाएको छ।

प्रदेशले सम्झौता नगरेको खण्डमा भने यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गरी समयमै वितरण गर्ने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?