काठमाडौं । दैनिक जीवनमा थोरै मात्र शारीरिक गतिविधि बढाउँदा पनि स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने नयाँ अनुसन्धानहरूले देखाएका छन्। विज्ञहरूका अनुसार नियमित व्यायामले शरीरलाई मात्र नभई मस्तिष्क, स्मरणशक्ति तथा समग्र मानसिक स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ।
अनुसन्धानअनुसार दैनिक जम्मा पाँच मिनेटको हलुका शारीरिक गतिविधि, जस्तै हिँड्ने, साइकल चलाउने वा भर्याङ चढ्ने बानीले अल्पायुमा हुने १० मध्ये एक मृत्यु रोक्न मद्दत गर्न सक्छ। यसले विश्वभर लाखौँ मानिसको आयु लम्ब्याउन योगदान पुर्याउन सक्ने अध्ययनले देखाएको छ।
विज्ञहरूका अनुसार पाँच मिनेटको व्यायाम मात्र पर्याप्त भने होइन, तर कुनै पनि शारीरिक गतिविधि नगर्नुभन्दा थोरै भए पनि सक्रिय रहनु स्वास्थ्यका लागि लाभदायक हुन्छ। विशेषगरी निष्क्रिय जीवनशैली अपनाइरहेका व्यक्तिहरूले दैनिक थोरै समय शारीरिक गतिविधि बढाउँदा उल्लेखनीय स्वास्थ्य लाभ प्राप्त गर्न सक्छन्।
अमेरिकाको रोड आइल्यान्ड विश्वविद्यालयका शारीरिक चालसम्बन्धी उपप्राध्यापक निकोल लोगन का अनुसार शारीरिक क्रियाकलापले तनाव र थकानको स्तर कम गर्न महत्वपूर्ण भूमिका खेल्छ। उनका अनुसार मांसपेशीको सबलता, हड्डीको मजबुती तथा नियमित शारीरिक गतिविधि दीर्घ र स्वस्थ जीवनका प्रमुख आधार हुन्।
स्वास्थ्य विज्ञहरूले दैनिक जीवनमा सानो परिवर्तन गर्दै नियमित हिँडडुल, हलुका व्यायाम तथा सक्रिय जीवनशैली अपनाउन सुझाव दिएका छन्। उनीहरूका अनुसार स्वस्थ जीवनका लागि घण्टौँ व्यायाम गर्नुभन्दा पनि नियमित रूपमा शरीरलाई चलायमान राख्नु बढी महत्वपूर्ण हुन्छ।






