जनकपुरधाम –नेपाल सीमावर्ती क्षेत्रमा हिन्दी फिल्म ‘पुष्पा’ को शैलीमा नदीमार्फत मदिरा तस्करी गर्ने प्रयास भारतीय प्रहरीले विफल पारेको छ। भारतको बिहार राज्यस्थित जयनगर प्रहरीले कमला नदीबाट ठूलो परिमाणमा नेपाली सौफी मदिरा बरामद गरेको हो।
प्रहरीका अनुसार आइतबार राति कमला नदीको काली मन्दिर घाट नजिकबाट नदीमा तैराएर भारततर्फ लैजाँदै गरिएको ४८ बोरा नेपाली सौफी मदिरा नियन्त्रणमा लिइएको हो। बरामद मदिराको कुल परिमाण २ हजार १६० लिटर रहेको जनाइएको छ। प्रहरी आएको थाहा पाएपछि तस्करहरू भने अन्धकारको मौका छोपी घटनास्थलबाट फरार भएका थिए।
सोमबार जयनगर थाना परिसरमा आयोजित पत्रकार सम्मेलनमा डीएसपी सदानन्द कुमारले गोप्य सूचनाका आधारमा काली मन्दिर घाट क्षेत्रमा विशेष निगरानी र छापामारी सञ्चालन गरिएको बताए। सो क्रममा नदीमा तैरिरहेका ४८ वटा बोरा फेला परेका थिए। परीक्षण गर्दा ती बोराभित्र नेपालमा उत्पादित सौफी मदिरा रहेको पुष्टि भएपछि सम्पूर्ण खेप नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार तस्करहरूले कमला नदीलाई सुरक्षित मार्गका रूपमा प्रयोग गर्दै ठूलो परिमाणमा मदिरा भारत भित्र्याउने योजना बनाएका थिए। तर, प्रहरीको समयमै गरिएको निगरानी र सक्रिय कारबाहीका कारण उनीहरूको योजना सफल हुन सकेन।
बरामद मदिरासम्बन्धी जयनगर थानामा बिहार मद्य निषेध तथा उत्पाद ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। फरार तस्करहरूको पहिचान गरी तस्करी सञ्जालमा संलग्न अन्य व्यक्तिहरूसम्म पुग्न अनुसन्धान तीव्र बनाइएको डीएसपी कुमारले बताए।
उक्त अभियानमा प्रहरी निरीक्षक सुरज कुमार, अमित कुमार, मोनिका कुमारी, प्यान्थर प्रहरी टोली तथा सशस्त्र सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
भारतीय प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने मदिरा तस्करी नियन्त्रणका लागि नियमित गस्ती, कडा निगरानी र विशेष जाँच अभियानलाई अझ प्रभावकारी बनाइएको जनाएको छ। पत्रकार सम्मेलनमा डीएसपी सदानन्द कुमारसँगै जयनगर थाना प्रमुख रमण कुमारलगायत अन्य प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।






