भोटेकोशी-त्रिशूली बाढीको उद्धार कार्य स्थगन गर्ने निर्णय

२०८३ आश्विन १९, सोमबार १६:५४

काठमाडौं। सरकारले अत्यावश्यक बाहेकका अन्य अवस्थाका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको टोली परिचालन तथा खोज र उद्धारको चरणलाई हालका लागि स्थगन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औं बैठकले अत्यावश्यक खोजलाई जारी राख्दै अब पुनर्निर्माण र पुनर्स्थापनाको कार्यलाई तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायहरूलाई स्पष्ट निर्देशन दिने निर्णय गरेको हो।

जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनसमेतको एकीकृत सिफारिसका आधारमा सरकारले खोज तथा उद्धारको चरण स्थगन गरी पुनर्निर्माणको चरणमा प्रवेश गर्ने उक्त निर्णय लिएको हो।

यसैगरी, बैठकले बाढी तथा पहिरो प्रभावित क्षेत्रको समग्र पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र विषयगत निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि कुल ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रूपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत गरिएका यी महत्त्वपूर्ण योजनाहरूबारे अर्थ मन्त्रालयमार्फत आवश्यक स्रोत व्यवस्थापन गरिनेछ।

यसैगरी, लागत अनुमान खुल्न बाँकी रहेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको थप विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बैठकले निर्देशन दिएको छ।

उक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका कामहरू संघ, प्रदेश र स्थानीय सरकारको चुस्त समन्वयमा भइरहेको र अबका पुनर्निर्माण तथा पुनःस्थापनाका कामहरू पनि सोही समन्वयकारी ढाँचामा सम्पन्न गरिने प्रस्ट पारेका छन्।

यस कार्यमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेताका साथै बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सरकारलाई आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकले भोटेकोशी-त्रिशूली बाढी तथा मनसुनजन्य विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

यसका साथै, यस्तो विषम परिस्थितिमा आफ्नो ज्यानको बाजी लगाएर खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा निरन्तर खटिने सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, स्वयंसेवक, सञ्चारकर्मीका साथै सहयोग पुर्‍याउने सम्पूर्ण दातृराष्ट्र र विकास साझेदारहरूप्रति परिषद्ले उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?