धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँए, ८ जना घाइते

२०८३ असार २७, शनिबार १८:५१

धनुषा । धनुषाको मिथिला नगरपालिका–९, बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान एम्बुलेन्स र उपमेयर सवार सरकारी गाडी एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।

बिहान करिब ६:२० बजे बडहरीबाट बिरामी बोकेर विराटनगरतर्फ जाँदै गरेको ना २ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ गइरहेको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी आपसमा ठोक्किँएका हुन्।

दुर्घटनामा परी एम्बुलेन्स चालक मिथिला नगरपालिका–१ का ४९ वर्षीय दिपेन्द्र कुमार महतो, एम्बुलेन्समा सवार गौशाला नगरपालिका–५ का ४५ वर्षीय बसन्त कुमार सिंह, सोही स्थानकी ४० वर्षीया रेणु कुमारी महतो, मिथिला नगरपालिका–९ की ६० वर्षीया राजु देवी र ६५ वर्षीय लक्ष्मी महतो घाइते भएका छन्।

त्यसैगरी, उपमेयरको गाडीमा सवार उपमेयर विद्दा भुजेल, गाडीका चालक बद्री भुजेल र धनुषाधाम नगरपालिका–८ का ७० वर्षीय भीमराज भुजेल पनि घाइते भएका छन्।

घाइतेहरू सबैलाई तत्काल उपचारका लागि रमदैयास्थित जानकी मेडिकल कलेज पठाइएको छ। घटनाको प्रकृति हेर्दा उपमेयर र अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। हाल उक्त दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?