जनकपुरधाम, २३ असार। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ स्थित स्टार कोचिङ इन्स्टिच्युट को होस्टेलमा बस्दै अध्ययनरत एक १४ वर्षीय विद्यार्थी मृ’त अवस्थामा फेला परेका छन्।
मृतक धनुषा जिल्लाको औरही गाउँपालिका–७ देउरी निवासी १४ वर्षीय अमलेश यादव रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्टार कोचिङ इन्स्टिच्युट का सञ्चालक बब्लु यादवले असार २३ गते बिहान करिब ७ बजे घटनाबारे जानकारी दिएका थिए। होस्टेलमा कार्यरत एक कर्मचारीले कोठाभित्र अमलेश झु’ण्डि’ए’को अवस्थामा देखेपछि सञ्चालक यादवलाई खबर गरेकी थिइन्।
सञ्चालक यादवका अनुसार घटनास्थलमा पुग्दा अमलेश झु’ण्डि’एको अवस्थामा थिए। उनले तत्काल उनलाई ओरालेर बिस्तरमा सुताएका थिए र लगत्तै प्रहरीलाई जानकारी गराएका थिए। सञ्चालक यादवले मृतक अमलेश यादव आफ्नै भतिजा रहेको समेत बताएका छन्।
सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






