सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन एमालेका कार्यकर्ताहरूलाई निर्देशन

२०८३ श्रावण १८, सोमबार १६:३५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका व्यक्तिहरू सत्ता र सरकारमा पुगेका कारण देश गम्भीर सङ्कटतर्फ धकेलिएको आरोप लगाएका छन्।

पार्टीका प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’का केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान अवस्थामा विभिन्न स्वार्थ समूहहरूले आफ्नो सक्रियता तीव्र रूपमा बढाएको जिकिर गरे।

सम्बोधनका क्रममा महासचिव पोखरेलले वर्तमान सरकार सुरुदेखि नै पूर्वाग्रह र प्रतिशोधको भावनाबाट प्रेरित भएर अघि बढेको दाबी गरे।

उनले भने, ‘सरकार सुरुदेखि नै पूर्वाग्रह र प्रतिशोधपूर्ण ढङ्गले अगाडि बढेको छ। यतिबेला नियम र कानुनलाई लत्त्याउँदै मुलुकलाई स्वेच्छाचारी शासन व्यवस्थातिर उन्मुख गराउने काम भइरहेको छ।’

महासचिव पोखरेलले सरकारका गलत कदम र स्वेच्छाचारी प्रवृत्तिका विरुद्ध पार्टी जुनसुकै बेला पनि सडक आन्दोलनमा जानुपर्ने परिस्थिति आउन सक्ने चेतावनी दिए।

उनले परिस्थितिअनुसार सशक्त विरोध र आन्दोलनमा उत्रिनुपर्ने हुनसक्ने भएकाले सोहीअनुसार तयारी अवस्थामा रहन आफ्ना मातहतका सम्पूर्ण पार्टी कमिटी र कार्यकर्ताहरूलाई स्पष्ट निर्देशन समेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?