एसएसपी भुवनेश्वर तिवारीको सक्रियतामा धनुषामा शान्ति–सुरक्षा र सद्भावका लागि सर्वपक्षीय पहल

२०८३ श्रावण १५, शुक्रबार २२:५३

जनकपुरधाम, साउन १५ — धनुषा जिल्लामा शान्ति, सुरक्षा तथा धार्मिक सद्भावलाई थप सुदृढ बनाउन जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न समुदायका प्रतिनिधि, धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा सामाजिक अगुवासँग छलफल र समन्वयलाई निरन्तरता दिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुनेश्वर तिवारीले शुक्रबार बिहानदेखि विभिन्न पक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै जिल्लाको सुरक्षा अवस्था, सामाजिक सद्भाव र सम्भावित चुनौतीका विषयमा सुझाव तथा धारणा संकलन गरेका हुन्। प्रहरीका अनुसार प्राप्त सुझावका आधारमा जिल्लाको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने तयारी गरिएको छ।

मधेस प्रदेशका केही क्षेत्रमा धार्मिक तथा जातीय संवेदनशीलता बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै प्रहरी प्रधान कार्यालयले धनुषामा सुरक्षा व्यवस्थापन थप मजबुत बनाउन विशेष निर्देशन दिएको जनाइएको छ। सोही अनुरूप जिल्ला प्रहरी कार्यालयले समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर सुरक्षा रणनीति अघि बढाएको हो।

एसएसपी तिवारीले धार्मिक तथा जातीय सद्भाव कायम राख्न समुदायबीच विश्वास र संवाद आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि प्रकारका विवाद उत्पन्न हुन नदिन प्रहरी उच्च सतर्कताका साथ परिचालित रहेको बताएका छन्। सम्भावित संवेदनशील गतिविधिमाथि निगरानी बढाइएको र सुरक्षा निकायलाई आवश्यक तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिएका छन्।

यसअघि जिल्ला प्रहरी कार्यालय धनुषामा प्रहरी उपरीक्षकका रूपमा करिब १३ महिनासम्म कार्यसम्पादन गरिसकेका तिवारी अपराध अनुसन्धान तथा सुरक्षा व्यवस्थापनमा अनुभवी अधिकृतका रूपमा परिचित छन्। उनको अघिल्लो कार्यकालमा जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रभावकारी भूमिका निर्वाह भएको भन्दै स्थानीय स्तरमा सकारात्मक मूल्यांकन हुने गरेको छ।

स्थानीय समाजसेवी, विभिन्न समुदायका प्रतिनिधि तथा सरोकारवालाले पनि प्रहरी र समुदायबीचको नियमित संवादले सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले सबै नागरिकलाई सामाजिक सद्भाव, आपसी सहिष्णुता र कानुनी शासनको सम्मान गर्न तथा अफवाह वा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन आग्रह गरेको छ। साथै, जिल्लामा शान्ति र सुरक्षा कायम राख्न सबै पक्षसँग सहकार्य र समन्वयलाई निरन्तरता दिइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?