भारतीय स्थल सेना प्रमुख धीरज सेठ साउन ३१ मा नेपाल आउँदै

२०८३ श्रावण २१, बिहीबार १३:२८

काठमाडौं। भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ ५ दिने औपचारिक भ्रमणका क्रममा यही साउन ३१ (अगस्ट १६) गते नेपाल आउने भएका छन्।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका हुन्। भ्रमणका क्रममा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिनेछ।

यद्यपि नेपाली सेनाका प्रवक्ता एवं सहारक रथी राजाराम बस्नेतले भने भारतीय स्थल सेना प्रमुख नेपाल आउने विषय आफूलाई औपचारिक जानकारी नभएको बताए।

नेपाल र भारतबीचको विशिष्ट सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा मित्रवत् सैन्य सम्बन्धको निरन्तरता स्वरूप एक-अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा छ।

सन् १९५० देखि निरन्तर कायम रहेको यो अभ्यास दुई देशका सेनाबीचको अनुपम सम्बन्ध र आपसी विश्वासको प्रतीकका रूपमा रहिआएको छ।

यसअघि वर्तमान प्रधानसेनापति सिग्देललाई २०८१ मंसिर २७ गते भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो । नयाँदिल्लीमा आयोजित एक विशेष समारोहबीच सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन् ।

भ्रमणका क्रममा भारतीय सेना प्रमुख सेठले प्रधानमन्त्री वालेन्द्र शाहलाई समेत भेट्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको कार्यालयसँग भेटघाटका लागि समय मिलाउन आग्रह गरिएको अधिकारीहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?