रौतहट। रौतहटको गुजरा नगरपालिका-३ स्थित धनसार पुल नजिक पूर्व-पश्चिम महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको एउटा ट्यांकर दुर्घटना भई आगलागी भएको छ।
बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ७८११ नम्बरको ट्यांकर बिहान करिब ५:३० बजे दुर्घटनामा परेको हो। सडकमा अचानक निस्किएको मृगलाई बचाउन खोज्दा ट्यांकर अनियन्त्रित भई सडकको दाहिनेतर्फ पल्टिएको थियो। पल्टिनासाथ ट्यांकरमा भीषण आगलागी भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाको कमान्डमा १० जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेन्द्र थापामगरको कमान्डमा ५ जना गरी १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
चन्द्रपुर र बाराको निजगढ नगरपालिकाबाट पुगेका दमकलको सहयोगमा बिहान ६:५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट ट्यांकर पूर्ण रूपमा क्षति भए पनि दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्यांकर चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका-११ का २५ वर्षीय समिर गुरुङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
अहिले राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा सुचारु भइसकेको छ। घटनास्थल चन्द्रनिगाहपुर बजारबाट करिब १३ किलोमिटर पश्चिममा पर्दछ।






