जनकपुर, सनोज यादव : जनकपुरधामस्थित ओम दीर्घायु अस्पतालको तेस्रो वार्षिकोत्सवको अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा करिब ७० जनाले रक्तदान गरेका छन्।
‘रक्तदान नै जीवनदान जीवनदान नै महादान भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
रक्तदान कार्यक्रममा सहभागी हुँदै रक्तदाताहरूले आवश्यक परेका बिरामीलाई रगत उपलब्ध गराउन सहयोग पुग्ने भन्दै नियमित रक्तदान गर्न सबैलाई प्रेरित गरेका छन्।
अस्पतालले आफ्नो वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममार्फत संकलित रगतले रगत आवश्यक पर्ने बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अस्पतालले रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता तथा सहयोगीप्रति आभार व्यक्त गरेको छ।






