मनसुनी वायुको प्रभाव कायम: बागमती, गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना

२०८३ श्रावण ३०, शनिबार १२:२२

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेकाले मौसम प्रभावित भएको हो।

आज बिहानदेखि नै कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ। मधेस प्रदेश र गण्डकी तथा लुम्बिनीका तराई भागमा भने आंशिक बदली रहेको छ। यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूका साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको छ।

यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई भागका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ।

आज राति पनि हिमाली र पहाडी भागमा साधारणतया बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। रातिको समयमा हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना कायम रहनेछ।

यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेस, कोशी र बागमतीका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्छ। राति पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याइएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च हुने भएकाले सर्वसाधारण र सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

साथै, प्रतिकूल मौसमका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले महाशाखाबाट जारी हुने पछिल्ला सूचना र पूर्वानुमानप्रति अद्यावधिक रहन अपिल गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?