वैदेशिक रोजगारीको रकम र पासपोर्ट फिर्ताको विषयमा विवाद, युवक घाइते

२०८३ आश्विन २१, बुधबार ११:५३

सप्तरी । राजविराज नगरपालिका–१२ दमावतीमा वैदेशिक रोजगारीका लागि दिएको रकम र पासपोर्ट फिर्ता माग्ने विषयमा विवाद हुँदा एक युवक घाइते भएका छन्।

स्थानीय सुनिल मरिकले छिमेकी पंकज यादवलाई एक वर्षअघि वैदेशिक रोजगारीका लागि ५० हजार रुपैयाँ दिएको र पासपोर्टसमेत बुझाएको बताएका छन्। लामो समयसम्म रोजगारीमा नपठाइएपछि रकम र पासपोर्ट फिर्ता माग्दै उनले जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी गरेका थिए।

मरिकका अनुसार यादवले घरमा बोलाएपछि त्यहाँ पुगेका बेला विवाद भएको र आफू घाइते भएका हुन्। उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ।

यता, यादवले आफू वैदेशिक रोजगारीको एजेन्ट नभएको र मरिक आफैं घरमा आएर विवाद गरेको दाबी गरेका छन्। उनले कुटपिटको आरोपसमेत अस्वीकार गरेका छन्।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?