जनकपुरधाममा १०८ मिटर लामो चुनरी जानकी मातालाई चढाइयो, शोभायात्राले थप्यो रौनक

२०८१ मंसिर १९, बुधबार १४:१९

जनकपुरधाम,१९ मंसिर । जनकपुरधाममा विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरमा १०८ मिटर लामो ध्वज (चुनरी) चढाइएको छ। भारतको सुरतस्थित जीन माता ट्रस्टले प्रदान गरेको उक्त चुनरी सीताराम गौशाला जनकपुरधामको व्यवस्थापनमा माता जानकीलाई चढाइएको हो।

जानकी मन्दिरसम्म चुनरी चढाउन आयोजित भव्य शोभायात्राले जनकपुरधामलाई धार्मिक उत्साहले झकिझकाउ बनाएको थियो। शोभायात्रामा सांसद जुली महतोको समेत सहभागिता थियो। उनले माता जानकीलाई समर्पित यस्तो ऐतिहासिक कार्यले धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

सीताराम गौशालाका अध्यक्ष मनोज रुंगटाका अनुसार जीन माता ट्रस्टले हालसम्म ४७५ मन्दिरमा यस्ता लामो ध्वज चढाइसकेको छ। “जानकी मन्दिरमा चुनरी चढाउन पाउनु जनकपुरवासीका लागि सौभाग्यको कुरा हो,” उनले बताए।

विवाह पञ्चमीको अवसरमा जनकपुरधामको यस ऐतिहासिक कार्यले धार्मिक आस्था र परम्परालाई जीवन्त राख्न थप प्रेरणा दिएको जनाइन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?