ADVERTISEMENT

गौरमा अज्ञात व्यक्तिले एक युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार

२०८३ कार्तिक १८, बुधबार १८:४४

जनकपुरधाम :रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले एक युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार गरेका छन्। गोली लागेर गौर नगरपालिका-४ गढवाका राकेश कुमार यादव गम्भीर घाइते भएका छन् ।

स्थानीयका अनुसार मंगलबार राति करिब ९ : १५ बजे गढवा गाउँस्थित पानी ट्यांकी नजिक यादवमाथि अज्ञात व्यक्तिले गोली चलाएका थिए। गोली प्रहारबाट घाइते भएका उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमका अनुसार घाइते यादवको सिटी स्क्यान गर्दा पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको पुष्टि भएको छ । उनको अवस्था गम्भीर रहे पनि चिकित्सकसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। गोली प्रहार गर्ने व्यक्ति को हुन् र घटनाको कारण के हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?