जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष डा. जयकान्त राउतले सत्ताकेन्द्रित राजनीतिभन्दा मधेशको एकता र जनताको अधिकारलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
अग्रगामी मोर्चाले आगामी निर्वाचनसम्म आफ्ना घटक दलहरू प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट निर्णय गरिसकेको स्मरण गराउँदै उनले उक्त निर्णयबाट पछि हट्नु जनताको चाहना र मोर्चाको मर्ममाथिको गम्भीर धोका हुने बताएका छन्। यस्तो कदमले पार्टी र जनताबीचको सम्बन्ध कमजोर बनाउनुका साथै राजनीतिक विश्वसनीयतामा समेत प्रश्न उठाउने उनको भनाइ छ।
शासकवर्गका राजनीतिक शक्तिहरूले अग्रगामी मोर्चालाई कमजोर पार्ने, मधेशकेन्द्रित दल तथा नेताहरूलाई बदनाम गर्ने र उनीहरूको राजनीतिक शक्ति छिन्नभिन्न पार्ने षड्यन्त्र गरिरहेको उनले आरोप लगाए। मधेश र मधेशी समुदायलाई कमजोर पारेर शासन गर्ने शासकवर्गको पुरानो प्रवृत्ति अझै कायम रहेको उल्लेख गर्दै उनले यस्ता षड्यन्त्रप्रति सबै राजनीतिक दल, नेता तथा कार्यकर्ताहरूलाई सचेत र चनाखो रहन आग्रह गरेका छन्।
“अग्रगामी मोर्चामार्फत मधेशले पुनः एकपटक आफ्नो राजनीतिक एकतालाई बलियो बनाउँदै राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्ने दिशामा अघि बढ्न खोजेको छ। तर मधेशको एकता र राजनीतिक शक्ति बलियो भएको शासकवर्गलाई मन परेको छैन। त्यसैले सबै पक्षले यस्ता गतिविधि र षड्यन्त्रप्रति सचेत हुन आवश्यक छ,” डा. राउतले भने।
अग्रगामी मोर्चाको निर्माणले मधेशसहित उत्पीडित, शोषित तथा सीमान्तकृत समुदायमा नयाँ आशा र एकताको सम्भावना जगाएको दाबी गर्दै उनले मोर्चाको एकता, साझा निर्णय र राजनीतिक प्रतिबद्धतालाई अक्षुण्ण राख्न आह्वान गरेका छन्।







