जनकपुरधाम,२५ मंसिर । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १६ स्थितबाट भन्सार छली गरी चोरी पैठारी गरिएको बिभिन्न किसिमका सामान नियन्त्रणमा लिइएको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी टोलीले सो स्थानमा छापा मारेका थिए।
छापाका क्रममा सवारी साधनमा लुकाइछिपाई राखिएका रु दुई लाख एकासी हजार तिन सय पचास रूपैयाँ बराबरका लता-कपडा, मोबाईलको ग्लास, डिस्प्ले, र किराना सामान बरामद गरिएको छ। बरामद सामानलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जनकपुर भन्सार कार्यालय, धनुषा पठाइएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक संजिव कुमार यादवले जानकारी गराएका छन्।
प्रहरीले भन्सार छलीका गतिविधि नियन्त्रण गर्न आगामी दिनमा थप सक्रियता बढाइने जानकारी दिएको छ।






