जनकपुरधाम,८ पुष । जनकपुरधामस्थित मोडेल कलेजको आयोजनामा एकदिवसीय विज्ञान प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको छ। प्रदर्शनीमा ३५ वटा विज्ञानसँग सम्बन्धित सामग्रीहरु प्रस्तुत गर्दै विद्यार्थीहरुले आफ्नो सिर्जनशीलता र वैज्ञानिक सोच प्रदर्शन गरेका थिए।
विद्यार्थीलाई आधुनिक वैज्ञानिक आविष्कारसँग जोड्दै क्षमता विकास र वैज्ञानिक दृष्टिकोण विस्तार गर्न यो कार्यक्रम विगत ३ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको छ। यसपटक कलेजका कक्षा ११ र १२ का विज्ञान संकायका विद्यार्थीहरु, एचए, सीएमएलटी, तथा मोडेल सेकेन्डरी स्कूलका कक्षा ८, ९, र १० का विद्यार्थीहरु प्रदर्शनीमा सहभागी भएका थिए।
कार्यक्रमको समापनमा प्रमाणपत्र वितरण गर्दै मोडेल कलेजका संस्थापक वीरेन्द्र साहले जनकपुरधामलाई वैज्ञानिक नवप्रवर्तनको केन्द्र बनाउने आफ्नो दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरे। “हामीले विगतमा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौं। आगामी वर्षदेखि जनकपुर र प्रदेशस्तरीय सप्ताहिक प्रदर्शनी आयोजना गरेर यस अभियानलाई अझै व्यापक बनाउने योजना छ,” उहाँले बताउनु भयो ।
प्रदर्शनीले विद्यार्थीहरुको सिर्जनशीलता प्रोत्साहित गर्दै उनीहरुलाई वैज्ञानिक सोच र नवीनताको यात्रामा टेवा पुर्याउने विश्वास गरिएको छ। यसले मोडेल कलेजका मात्र नभई सम्पूर्ण जनकपुर क्षेत्रका विद्यार्थीहरुलाई लाभान्वित गर्ने अपेक्षा गरिएको छ।






