सर्लाही,१९ पुष । सर्लाहीको धनकौल गाउँपालिका-५, छठीघाट पुल नजिकै आज बिहान ज १ त ५७१६ नम्बरको ट्याक्टर दुर्घटना भएको छ। हरिवनस्थित चिनी मिलमा उखु पुर्याएर फर्कंदै गरेको खाली ट्याक्टर पुलबाट तल खसेको हो।
दुर्घटनामा परेका ट्याक्टर चालक भारतीय नागरिक रहेका छन्, जो घटनास्थलमा बेहोस अवस्थामा भेटिएका थिए। उनलाई तत्काल मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ।
प्रहरीका अनुसार बिहान बाक्लो हुस्सु लागेका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरकटवाले जानकारी दिएको छ।






