सर्लाहीमा मापसे चेकिङका क्रममा प्रहरीमाथि वडा अध्यक्षको हातपात, टाउको फुटाउनेगरी कुटपिट

२०८१ पुष २२, सोमबार १७:०९

सर्लाही,२२ पुष । सर्लाहीको गडरीया डुमरीया वडा नं. ५ स्थित बैधनाथ चौकमा मापसे चेकिङ गरिरहेका प्रहरीमाथि वडा अध्यक्षकै हातबाट आक्रमण भएको छ। मादक पदार्थ सेवन गरेर आएका वडा अध्यक्षले ड्युटीमा रहेका प्रहरीमाथि ज्यान जानेगरी कुटपिट गर्दै टाउको समेत फुटाइदिएका छन्।

घटनापछि घाइते प्रहरीले नजिकैको अस्पतालमा उपचार गराइरहेका छन्। सुरक्षाकर्मीमाथि यस्तो घटना घटाउन वडा अध्यक्षले पदको दुरुपयोग गर्दै कानुनको धज्जी उडाएको स्थानीयवासीले आरोप लगाएका छन्।

यस घटनाको सर्वत्र आलोचना भईरहेको छ। सामाजिक सञ्जालमा दोषी वडा अध्यक्षविरुद्ध कडा कारवाहीको माग चुलिएको छ। कानुनी राज्यमा पदको दम्भ देखाउँदै सुरक्षाकर्मीमाथि आक्रमण गर्नु गम्भीर अपराध भएको भन्दै सर्वसाधारणले न्याय सुनिश्चितताको माग गरेका छन्।

प्रहरी प्रशासनले दोषीविरुद्ध छानबिन गरी कानुनी कारवाही अघि बढाइने प्रतिबद्धता जनाएको छ। यो घटना समाजमा हुने असमान व्यवहार र कानुनको उपहासको ज्वलन्त उदाहरण बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?