वडा कार्यालय भाडाको भवनमा, कार्य सम्पादनमा असहज

२०८१ माघ १८, शुक्रबार १९:११

रौतहट,१८ माघ । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको अधिकांश वडाहरु भाडाको घरबाट सञ्चालन हुँदै आएका छन् ।

सो नगरपालिकाको वडा नम्बर १,३,६ र १० को  आफ्नो भवन नहुँदा कार्य सम्पादनमा समस्या भएको छ ।

वडा कार्यालयबाट पाउने सेवा लिन समस्या हुने गरेको स्थानीय जगरूप चौधरीले बताए । उनका अनुसार  स्थानिय सरकार आएको ७ वर्ष वित्न लाग्दा पनि वडा कार्यालय भाडाको घरबाट सञ्चालन हुनु दुःखद हो । नगरपालिका र वडा कार्यालयका जनप्रतिनिधिहरु वडा कार्यालयहरु बनाउन तर्फ अग्रसर हुनुपर्ने उनको तर्क छ  ।

तर फतुवा बिजयपुर वडा नम्बर ११ ले आफ्नै भवन बनाउन तर्फ अग्रसरता देखाएको छ । भाडाको कोठामा सञ्चालन हुँदै आएको सो वडाले भवन निर्माणको कामलाई तिब्रता दिएको हो ।

बजार समितिको भवनको माथि पहिलो तल्ला वडा कार्यालयको लागि भवन बनिरहेको छ । बजार व्यवस्थापन समितिको सहमतीमा नै वडा कार्यालयको भवन निर्माणको काम भैइरहेको वडा अध्यक्ष ज्ञानेन्द्र चौधरीले बताए ।

उनका अनुसार  वडाले चालुु आर्थिक वर्ष भित्रमा नै आफनै प्रशासनिक भवन पाउने छ । वडा स्तरीय योजना बाट १४ लाखको लागतमा सो वडा कार्यालयको भवन बनिरहेको उनले जानकारी दिए । यस अघि आर्थिक वर्ष २०८०÷८१ मा १० लाखको लागतमा छत ढलानको काम भएको थियो ।

अहिले पर्खाल,पलास्टर,वायरिङ्ग लगायतका कामहरु भइरहेको उनको भनाइ छ । फतुवा बिजयपुर नगरपालिकाको अधिकांश वडाहरुले आफ्नो भवन निर्माणमा चासो दिनुपर्ने वडा बासीको माग छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?