माघ १९, जनकपुरधाम। महाकुम्भबाट फर्किँदै गरेको जिप दुर्घटनामा पाँचको मृत्यु भएको छ । भने अन्य चारजना घाइते भएका छन्।
भारतको प्रयागराज महाकुम्भ मेलाबाट फर्किँदै गरेको जिप बिहारको मुजफ्फरपुरमा दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको छ। मृतकहरु महोत्तरी जिल्ला मनरा शिसवा नगरपालिका वडा नं. २ कट्टी निवासी रहेका छन ।
प्रयागराजबाट फकिँदै गरेको स्कार्पियो जिप आज दिउँसो मुजफ्फरपुरको मधुबनी मन्दिरनजिक दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र चालकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर र नाम नखुलेका एक जना घाइते भएका छन्। घाइते मनोहर नेपाल प्रहरीका जवान रहेका छन् ।
कुम्भमा स्नान गरेर अयोध्या र त्यसपछि वाराणसी पुगेर फर्किरहेको घाइते कामनी झाले बताएकी छन्। घाइतेलाई उपचारका लागि एसकेएमसीएचमा पठाइएको छ। तीव्र गतिमा रहेको जिप मोटरसाइकल बचाउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार जिप कयौंपटक पल्टिएको थियो।






