नेपालसहित चार देशमा एमसिसी परियोजना यथावत रहने

२०८२ बैशाख १२, शुक्रबार १४:०५

काठमाण्डौ,१२ बैशाख । नेपालसहित चार देशमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना नरोकिने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज)ले खर्च कटौतीका लागि एमसिसी परियोजना बन्द गर्ने योजना बनाएको भन्दै कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो ।

यद्यपि, नेपाल, सेनेगल, मङ्गोलिया र आइभोरी कोस्टमा सम्झौता भई कार्यान्वयनमा रहेका परियोजनाहरू सुचारु रहने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले एमसिसी एक कर्मचारीलाई उद्धृत गर्दै जनाएको छ ।

एमसिसीले विश्वका २० देशमा विभिन्न विकास परियोजना सञ्चालन गर्दै आएको छ । तर, माथि उल्लिखित चार देशबाहेक अन्य मुलुकमा सञ्चालित परियोजनाहरू स्थगित गर्ने निर्देशन दिइएको रोयटर्सले उल्लेख गरेको छ । “परियोजना व्यापार र पूर्वाधार विकासमा केन्द्रित छ र अमेरिकी हितमा पनि छ,” एमसिसी उक्त कर्मचारीले भनेका छन् ।

नेपालमा एमसिसी मार्फत प्राप्त हुने ५० करोड अमेरिकी डलर अनुदान विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च हुने योजना छ । जसमध्ये ३९ करोड ८० लाख डलर प्रसारण लाइन निर्माणमा र ५ करोड २० लाख डलर पूर्वपश्चिम राजमार्गको धानखोला–भालुवाङ–लमही–शिवखोला खण्डको सडक स्तरोन्नतिमा खर्च हुने तय भएको छ । प्रसारण लाइन निर्माणका लागि ठेक्का प्रक्रिया समेत सम्पन्न भइसकेको छ ।यसै गरी, मङ्गोलियामा राजधानीको पानीको समस्या समाधान गरी ५५ प्रतिशत जनसङ्ख्यालाई लाभ पुर्‍याउने अपेक्षासहित एमसिसीको ३५ अर्ब लगानीमा अत्याधुनिक पानी प्रशोधन प्लान्ट निर्माण भइरहेको छ । सेनेगलमा ५५ अर्बको विद्युत् प्रसारण लाइन परियोजनाले ग्रामीण क्षेत्रमा विद्युत् पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ । आइभोरी कोस्टमा भने एमसिसी को सहयोगमा विद्यालय निर्माणको काम अघि बढिरहेको छ ।चारै देशमा एमसिसी परियोजनाहरू निर्बाध सञ्चालन हुने रोयटर्सले जनाएको छ ।
यद्यपि, नेपालमा एमसिसी कार्यान्वयन गर्ने निकाय मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए)ले परियोजना रोकिएको वा नरोकिएकोबारे कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन ।अमेरिकी राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि सहायता परियोजनाहरू रोक्न कार्यकारी आदेश जारी गरेका थिए । सोहीअनुसार एमसिसी परियोजनाहरूको ९० दिने पुनर्मुल्याङ्कन अवधि तोकिएको थियो । तर, गत चैत ८ गते अमेरिकी सरकारले सबै परियोजना रोक्नु नपर्ने पत्र पठाएको थियो । एमसिएले पनि सोही दिन विज्ञप्ति जारी गर्दै परियोजनाहरू सुचारु रहने जानकारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?