काठमाडौं,१३ वैशाख । देशका केही तराई क्षेत्रहरूमा आज पनि तीव्र गर्मी र तातो हावा (हिट वेभ) चल्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। विशेषगरी मधेश, लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने देखिएको छ। त्यसैले स्वास्थ्यमा असर पर्न नदिन सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ।
तातो लहरले थकान, चक्कर, टाउको दुखाइ, अत्यधिक तिर्खा, बेहोसीजस्ता समस्या ल्याउन सक्छ। यसबाट जोगिन चिसो ठाउँमा बस्ने, हल्का सुती कपडा लगाउने, धूपमा कम ननिस्कने, प्रशस्त पानी तथा जुस पिउने, र स्वास्थ्य समस्या देखिएमा तुरुन्त डाक्टरसँग सल्लाह लिन मौसम विभागले सुझाव दिएको छ।
यसैबीच, भोलि बेलुकीदेखि प्रिमनसुन प्रणाली सक्रिय हुने अनुमान गरिएको छ। मौसमविद विनोद पोखरेलका अनुसार पूर्वी र मध्य क्षेत्रमा भोलि र पर्सि पानी पर्नेछ। सोमबार चितवन, लुम्बिनी हुँदै काठमाडौं उपत्यकासम्म पानी पर्ने सम्भावना छ, जसले गर्मी केही घटाउने विश्वास गरिएको छ।






