सोलुको थामेमा ‘सगरमाथा संवाद’को अभ्यास, हिमालमा हिउँ रित्तिदै गएकोमा चिन्ता

२०८२ बैशाख १४, आईतवार ११:३०

काठमाडौं,१२ बैशाख : ‘सगरमाथा संवाद’ राष्ट्रिय एकतालाई सबल बनाउने, विश्वसामु नेपालको शिर उँचो पार्ने अवधारणा अनुरूप तयार पारिएको अन्तर्राष्ट्रिय मञ्च हो । २०७६ सालमा थालनी गरिएको मञ्च पुनः फर्किएको छ । यही २०८२ जेठ २, ३ र ४ मा नेपालले यसलाई पुनः शुभारम्भ गर्दैछ ।

हुन त जलवायु संकट निम्त्याउने सन्दर्भमा नेपालको मात्रै भूमिका छैन । नियन्त्रण गर्न नेपालले मात्र सक्दैन । तर अभियान सुरु गरेर विश्वमाझ फरक पहिचान स्थापित गर्न भने सक्छ । जलवायु संकटको विषय भौगोलिक वा पर्यावरणीय मात्र नभई राजनीतिक पनि भएकाले नेपालले ‘सगरमाथा संवाद’ शुभारम्भ गर्दैछ । यसै अभियानलाई केन्द्रित गर्दै विभिन्न संघ संस्थाहरुले गतिविधिहरू गरिरहेका छन् ।

हालै ‘साथसाथै फाउन्डेसन’ नामक संस्थाले सोलुखुम्बुको थामेमा ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ विषयक कार्यक्रमको आयोजना गरेर ‘सगरमाथा संवाद’को पूर्व कार्यक्रमको शुभारम्भ गरेको छ । सरकारको तर्फबाट औपचारिक सुरुवात गर्न बाँकी छ ।

सम्मेलनको उद्घाटन गर्दै रक्षामन्त्री मानवीर राईले पृथ्वी बचाउ अभियानमा सबै एकताबद्ध हुनुपर्ने मात्र बताएनन् त्यसका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने उद्घोष पनि गरे ।

उनले जलवायु परिवर्तनको असरका कारण हिमताल विस्फोट हुँदा आएको बाढीले पर्यटकीय नगरी थामे बस्ती तहसनहस बनाएको स्मरण गर्दै थामे बस्ती पुनः निर्माणको काम सरकारले अघि बढाउने बताए । ‘जलवायु परिवर्तनले आक्रान्त छौँ तर यसको न्यूनीकरणमा सबै जुट्नुपर्छ । त्यसका लागि सरकार अघि बढिसकेको छ ।’

सोही कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनजन्य विपत्तिबाट प्रभावित समुदायको पुनः निर्माण कार्यलाई सरकारले अगुवाइ गरेर अघि बढाउने घोषणा गरे ।

कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हरेक विकासमा जलवायु परिवर्तनको मुद्दालाई केन्द्रमा राख्नुपर्ने बताइन । ‘हिमालमा हिउँ रित्तिँदै गएको महसुस भइरहेको छ, हरेक वर्ष हिमालमा हिउँ घट्दै जानु भनेको ठुलो खतराको संकेत हो । यसको न्यूनीकरणमा हामी सबै जुटौँ,’ उनले भनिन् ।

ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले पर्यटन पूर्वाधार विकास तथा क्षतिग्रस्त संरचना निर्माणका लागि ढिला भइसकेको बताए । थामे खोलामा आएको बाढीले सगरमाथा क्षेत्रको पर्यटकीय संरचना ध्वस्त भएकाले यसको निर्माणमा जुट्न सरकारसँग आग्रह पनि गरे ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले थामेको पुनः निर्माण, पुनः स्थापना र परिपूरणका लागि तीनै तहका सरकार योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने सुझाव दिए ।

फाउन्डेसनकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम प्रभावित क्षेत्रमै पुगेर गर्दा फलदायी हुने बताउँदै पृथ्वी बाँच्यो भने मात्रै प्राणी जगतको अस्तित्व सुरक्षित हुने औँल्याइन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बाढी प्रभावितका लागि राहत र पुनः निर्माणका लागि स्थानीय सरकार अहोरात्र खटिरहेको बताए ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका कार्यकारी सदस्य बद्री सिग्देलले खुम्बु जस्तो विकट क्षेत्रमा सरकारका मन्त्री आफैँ उपस्थित भएर जनगुनासो सुन्नु सकारात्मक भएको बताए । उनले जलवायु संकटको अवस्था बुझ्न हिमाल, पहाड र तराइ सबैतिर पुग्नुपर्ने धारणा राखे ।

सम्मेलनमा आरोही, जनप्रतिनिधि, सरकारी अधिकारी र स्थानीयवासीसहित भएको छलफल र संवादपछि पाँच बुँदे घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमा थामेसहितका बाढी पहिरो पीडितका मुद्दालाई आगामी जेठ २ गते हुने सगरमाथा संवादमा प्राथमिकताका साथ उठान गर्नुपर्ने र त्यसका लागि सबै आरोही एकजुट हुनेलगायत घोषणा समेटिएका छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घसहितका विभिन्न संघ संस्थाले सहकार्य गरेका थिए । सम्मेलनमा जलवायु परिवर्तन, पर्यटन र हिमाली जीवनशैलीका विविध पक्षमा छलफल भएको थियो ।

सम्मेलनमा उपस्थित सहभागीहरूले जलवायु परिवर्तनको संकट र पृथ्वी बचाउ अभियान सोलुमा मात्र गरेर नहुने औँल्याउँदै सोलुको समस्या विश्वव्यापी गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?