जनकपुरधाम २१ जेष्ठ – बागवाणी गेटअगाडि संकटमोचन मन्दिरतर्फ जाने मुख्य बाटो विगत २–३ वर्षदेखि अत्यन्तै खराब अवस्थामा रहेको छ। लगातार पानी जम्ने, हिलो हुने र खाल्डाखुल्डीले भरिएको यो सडक दैनिक सयौं स्थानीयवासी र श्रद्धालुहरूका लागि सास्तीको कारण बनेको छ।
स्थानीय बासिन्दाका अनुसार, सडकको अवस्था पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि अहिलेसम्म कुनै पहल भएको छैन। “हामीले धेरै पटक गुनासो गर्यौं, तर सुनुवाइ छैन। साना बच्चादेखि वृद्धसम्म यसै बाटो हुँदै हिँड्नुपर्छ। पानी परेपछि झनै खतरनाक हुन्छ,” एक स्थानीय नागरिकले भने।
सडकको दयनीय अवस्थाका कारण विशेषगरी स्कूले बालबालिका, वृद्धवृद्धा, र मोटरसाइकल चालकहरूलाई बढी समस्या भएको छ। धार्मिक स्थलतर्फ जाने बाटो भएकाले यो सडकमा सधैंजसो चहलपहल हुने गर्दछ।
संबन्धित स्थानीय सरकार र सडक डिभिजन कार्यालयले शीघ्र ध्यान नदिए सडकको अवस्था झनै बिग्रने र दुर्घटनाको जोखिम बढ्ने स्थानीयहरूको चिन्ता छ।






