
सिरहा असार ६— सिरहामा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।
ज्यान गुमाउनेमा मोटरसाइकल चालक कल्याणपुर नगरपालिका–१२ का २९ वर्षीय नरेश मुखिया, पछाडि सवार चतरी टोलका २८ वर्षीय प्रदीप मुखिया र साइकल यात्री सिरहा नगरपालिका–२ का ६५ वर्षीय कुसे राय छन्।सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार दुर्घटना शुक्रबार साँझ सवा ५ बजे सिरहा नगरपालिका–१८ सन्हैठा नजिक हुलाकी सडक खण्डमा भएको हो। पूर्वतर्फ गइरहेको साइकल र पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो। तर, चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका हुन्।
प्रहरीले शव पोष्टमार्टमका लागि अस्पतालमा राखेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।