जनस्तरसम्म संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तीब्रता दिन र मिसन ८४लाई समेत लक्षित गरेर डा. सीके राउत नेतृत्वको जनमत पार्टीको स्थायी समितिले कपिलवस्तु मायादेवी गाउँपालिका निवासी दानबहादुर चौधरी र सप्तरी महादेवा गाउँपालिका निवासी डा. जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्षमा मनोनित गरेको छ ।
चौधरीसँग करिव पाँच दशक लामो राजनीतिक अनुभव छ । वि.स. २०३९मा वहाँ प्रधानपञ्चको रुपमा निर्वाचित भएका थिए । एमालेबाट २०५६मा कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका उनी २०६४मा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट पनि संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
उनी उद्योग राज्यमन्त्री, सामान्य प्रशासन राज्यमन्त्री,र महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारीसमेत सम्हाली सकेका छन् ।
मनोनित अर्का उपाध्यक्ष जापानबाट कृषिमा पीएचडी गरेका कृषि वैज्ञानिक पृष्ठभूमिका डा. जयकान्त राउत २०६८ देखि निरन्तररुपमा डा. सीके राउतसँग स्वतन्त्र मधेश (स्वराज) अभियान देखि जनमत पार्टीको निर्माण हुँदै आजको मितिसम्म हरेक कदममा सहकार्य र सहयोग गर्दै आएको छ ।
शुरुमा अभियानको अवधारणा र मार्गचित्रको विकासमा डा. सीके राउतलाई सहयोग गर्ने वहाँ पहिलो व्यक्ति हुनुहुन्छ । संघर्षको कठीन भन्दा कठीन घडीमा सधै साथ दिदैँ अभियानलाई यहाँसम्म ल्याई पुर्याउन वहाँको ठूलो योगदान छ।
त्यसैले डा. जयकान्त राउतलाई स्वराज अभियान/जनमत पार्टीको सुत्रधार एवं संरक्षकको रुपमा चिनिन्छ । जनमत पार्टीको तर्फबाट आम निर्वाचन २०७९मा सप्तरी निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्यको लागि चुनाव लडे र १९ हजार ९९६ मत ल्याउँदै उपविजेता घोषित भएका थिए ।
डा. राउत राष्ट्रिय परिषद्का अध्यक्ष एवं सङ्गठन विभाग प्रमुखको जिम्मेबारी सम्हाल्दै आउनु भएको छ । उनी राष्ट्रिय योजना आयोगको सदस्य समेत रहिसक्नु भएको छ ।






