सनोज यादब, जनकपुरधाम असार २४— पिरारी चोक र रामानन्द चोक जनकपुरधामका प्रमुख चोकमध्ये पर्दछन्। तर दुःखको कुरा के छ भने यी दुई चोकको ठ्याक्कै बीच सडक किनारमा नगरपालिकाले डम्पिङ साइट बनाएर कचरा थुपारिदिएको छ। यही बाटो भएर हरेक दिन मेयर, मन्त्री, जनप्रतिनिधि सबै ओहोरदोहोर गर्छन्, तर कसैको नजर कचरामाथि जाँदैन।
जनकपुरधाम घुम्न आउने स्वदेशी–विदेशी पर्यटकहरू भन्छन् — ‘सहर छिर्न नपाउँदै मुखैमा फोहोर देखिन्छ। धार्मिक सहर भनेर आउने हो, तर स्वागत फोहोरको डंगुरले गर्छ।’
स्थानीय बासिन्दाहरूले गुनासो गरेका छन् कि सहरको मुख्य नाकामै यस्तो दुर्गन्ध र कुरूपता देख्दा जनकपुरको पहिचानमाथि नै धब्बा लागेको छ।
नगरवासीहरू मेयरदेखि वडा अध्यक्षसम्मको ध्यान आकर्षण गर्दै माग राखिरहेका छन् — ‘यो बीच सडकको कचरा हटाइयोस्, सुगन्धित जनकपुर बनाइयोस्।’






