महोत्तरी ‘भादौ २० :महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–११ लाई एक विशेष समारोहका बीच बालविवाहमुक्त वडा” घोषणा गरिएको छ।
स्थानीय सरकार, सरोकारवाला निकाय, महिला, बालबालिका तथा समुदायको सक्रिय उपस्थितिमा गरिएको यस घोषणाले बाल अधिकार संरक्षण र सामाजिक रूपान्तरणतर्फ ऐतिहासिक कदम चालेको छ।
“वाल विवाह जिन्दगी तवाह” भन्ने नारासहित शुक्रवार सो वडालाई आधिकारिक रूपमा बालविवाहमुक्त घोषणा गरिएको हो। यस अभियानमा रतौली युवा क्लब, सेभ द चिल्ड्रेन, समाज उत्थान कल्याण संघको सहकार्य रहेको थियो।
कार्यक्रमको अध्यक्षता गर्दै वडाध्यक्ष मनोज कुमार साहले बालविवाह रोक्न गरिएको निर्णय सकारात्मक भएको बताउँदै कार्यान्वयनलाई अझ प्रभावकारी बनाइने उल्लेख गर्नुभयो। उहाँका अनुसार सानो उमेरमा हुने विवाहले प्रजनन स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यस्ता अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको हो।
प्रमुख अतिथि, मधेश प्रदेशका श्रम तथा यातायात मन्त्रि कौशल किशोर रायले बालविवाह समाजका लागि घातक भएको बताउँदै सबैलाई कानुनको पालना गर्न आग्रह गर्नुभयो। साथै उहाँले प्लास्टिकको प्रयोग रोक्दै वातावरणमैत्री व्यवहारमा फर्किनुपर्नेमा पनि जोड दिनुभयो।
यस अवसरमा रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीले महोत्तरी क्षेत्रमा बालविवाहको समस्या गम्भीर रहेको बताउँदै सूचकहरूका आधारमा न्यूनीकरणका लागि अभियान निरन्तर सञ्चालन भइरहेको जानकारी दिनुभयो।
समाज उत्थान कल्याण संघका अध्यक्ष रुपेश पासवानले बालविवाह कानुन अनुसार अपराध भएको प्रष्ट पार्दै वडास्तरमा निगरानीलाई बलियो बनाइने बताउनुभयो।
राष्ट्रिय वाल अधिकार परिसदका प्रदेश समन्वय अधिकृतले यस अभियानमा स्थानीय सरकारसँगै गैरसरकारी संस्था र समुदायको भूमिका अत्यन्तै प्रशंसनीय रहेको भन्दै बालविवाह भएको खण्डमा कानुन अनुसार कडाइका साथ कारबाही गरिने चेतावनी दिनुभयो।






