पवन यादब ,मोरङ्ग भादौ २५ : यो आन्दोलनले यसरी सरकार नै ढाल्छ भन्ने कुरा कसैले सोचेको पनि थिएन। कुनै वैकल्पिक तयारी पनि थिएन, त्यसैले आज देश अनिश्चिततामा फसेको छ। Gen Z आफ्नो माग राख्न सडकमा उत्रिएको थियो, तर भोलिपल्टै सरकार नै ढल्दा परिस्थिति नियन्त्रण बाहिर गयो।
अब देश कता जाँदैछ भन्ने अन्योल छ। कोही कुट्दै छन्, कोही लुट्दै छन्, कोही भाग्दै छन्, कोही हाँस्दै छन्… तर देश भने डुब्दै गएको अनुभूति भइरहेको छ।
साँचै भन्नुपर्दा, आन्दोलन सुरु गर्नु सजिलो हो तर त्यसपछि के गर्ने भन्ने खाका नभए देशलाई अझ ठूलो संकटमा धकेलिन्छ। नेतृत्वले योजना बनाउन नसक्दा आज हामी सबैले यसको मूल्य तिर्नुपरेको छ।
आज सडकमा धुवाँमात्र छैन, घर–घरमा त्रास छ। परिवारहरू असुरक्षित महसुस गरिरहेका छन्, व्यापार–व्यवसाय ठप्प छन्, विद्यार्थीहरूको भविष्य अनिश्चित बनेको छ। हवाईजहाज रोकिन्छ, अन्तर्राष्ट्रिय जगतमा नेपाल असुरक्षित राष्ट्रको रूपमा देखिन्छ—यसरी देशको छवि दिनप्रतिदिन धमिलो हुँदै गएको छ।
युवाहरूको आवाजलाई अब बेवास्ता गर्न सकिँदैन। तर आवाजसँगै समाधानको बाटो पनि देखिनुपर्छ। आन्दोलनले परिवर्तनको ढोका खोल्छ, तर त्यस ढोकाबाट देशलाई स्थिरता र भविष्यतर्फ लैजान जिम्मेवारी सबैको हुन्छ। यही बेला हो—देश बचाउन सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने।






