२०८३ जेष्ठ ३०, शनिबार २२:५४

महोत्तरीमा  :  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा वडाहरु बालबिवाह मुक्त घोषणा हुन थालेका छन । पहिले वडा नं. ५,१० र ११ बालबिवाह मुक्त घोषणा भैसकेकोमा शुक्रवार वडा नं. ७ समेत बालबिवाहमुक्त घोषणा गरिएको छ ।

 

शुक्रवार वडा कै महादेवपट्टी स्थित विद्यालय प्रांगणमा आयोजित विशेष समारोहमा पुर्व शिक्षा तथा संस्कृति मन्त्री तथा प्रदेश सभा सदस्य रानी शर्मा तिवारी तथा जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले संयुक्त रुपमा वडा नं. ७ लाई बालबिवाह मुक्त घोषणा गरेका छन । वडा अध्यक्ष राम छविला यादवले बालबिवाह मुक्तको कार्यपत्र प्रस्तुत गरेपछि प्रमुख तथा विशेष अतिथिले सो घोषणा गरेका हुन । वडा अध्यक्ष राम छबिला यादव को अध्यक्षतामा सम्पन्न समारोहमा बालबिवाह घोषणाको सम्पुर्ण सुचक पुरा भएपछि सो घोषणा गरिएको हो ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन लाल कर्ण, उपप्रमुख नन्दु महरा, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, पत्रकार, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

प्रमुख अतिथि पुर्वमन्त्री तिवारीले अझै वडाहरु बालबिवाह र साक्षर घोषणा बाकि रहेकोमा यसतर्फ सवै पक्ष थप जिम्मेवार हुन आग्रह गरिन । उनले समुदायमा अझै शिक्षा र जनचेतना पुर्याउन कार्यगर्न बाकि रहेकोमा हामीले शिक्षाको ज्योती बाल्न सके विविध समस्या समाधान हुदै जाने बताईन । पुर्वमन्त्री तिवारीले उमेर नपुग्दै गरिने बिवाहले बालबालिकाको भविष्य खराव हुनुका साथै यस्ले स्वास्थ्यमा समेत प्रतिकुल असर गर्ने र कानुनले समेत यसलाई दण्डित गरेकोले सचेत हुन आग्रह गरिन ।

 

त्यसतै नगरप्रमुख सोनारले बालविवाह अन्त्यका लागि स्थानीय सरकार, समुदाय, विद्यालय, अभिभावक र सरोकारवाला निकायबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जलेश्वर नगरपालिका यसकार्यमा निरन्तर लागिरहेको बताए । उनले चाडै पालिकाको सवै वडाहरु बालबिवाह मुक्त र साक्षर घोषणा भई पालिका समेत बालबिवाह मुक्त र साक्षर घोषणा हुने बताए ।

 

यता वडाअध्यक्ष यादवले वडा कार्यालय, वडा बालअधिकार समिति तथा विभिन्न साझेदार संस्थाको सहकार्यमा सञ्चालन गरिएको अभियानले समुदायमा सकारात्मक परिवर्तन ल्याएको वडाले बताए । उनले अभियान अन्तर्गत विद्यालय, टोल तथा समुदायस्तरमा निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि आज घोषणा सम्भव भएको उनले थपे ।

 

वडाले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा भएका ८५ विवाहमध्ये २० वटा बालविवाह थिए। सन् २०२४ मा यो संख्या १० मा झर्यो भने सन् २०२५ मा ६६ विवाहमध्ये ६ वटा मात्र बालविवाह भएको पाइएको छ। यससँगै बालविवाहमुक्त कार्यविधिले तोकेका अधिकांश सूचक पूरा भएको जनाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार वडा नं. ७ को कुल जनसंख्या ६ हजार ३७२ रहेको छ। तीमध्ये करिब ४८ प्रतिशत बालबालिका छन्। बालबालिकाको ठूलो जनसंख्या रहेको यस वडामा बालअधिकार संरक्षण तथा बालविवाह न्यूनीकरणलाई विशेष प्राथमिकतामा राखिएको छ।

 

सेभ द चिल्ड्रेन, रतौली युवा क्लब, डिडिआरसी पर्सा, समाज उत्थान कल्याण संघ तथा सि.ई.एफ.एम परियोजनाको सहयोगमा सञ्चालन भइरहेको अभियानले वडालाई पालिकाको चौथो बालबिवाह मुक्त वडा घोषणा गर्न अवसर जुराईदिएकोमा वडाअध्यक्ष यादवले सहयोगी संस्थाहरुलाई धन्यवाद दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?