महोत्तरी,३१ असोज । रतौली युवा क्लबले आफ्नो ३४ औं वार्षिक उत्सव शुक्रबार जलेश्वर नगरपालिकास्थित आर. एस. थाकालिको सभा हलमा भव्यतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा समाजसेवी, जनप्रतिनिधि, विभिन्न स्थानीय निकायका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिले माहोल उत्साहपूर्ण बनेको थियो।
कार्यक्रम रतौली युवा क्लबका अध्यक्ष मो. साकिर खानको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति महोत्तरीका अध्यक्ष सुमन लाल कर्ण उपस्थित थिए। विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजानन्दन मण्डल, महोत्तरी गाउँपालिका अध्यक्ष दिलिप पाण्डे, बलबा नगरपालिकाकी उपप्रमुख रामदुलारी ठाकुर, साथै मटिहानी नगरपालिकाका वडाध्यक्ष कलिम अन्सारी, जलेश्वर नगरपालिकाका वड नं. ६, १०, ११, १२ का वडाध्यक्षहरू, पिपरा गाउँपालिकाका १, २, ३ का वडाध्यक्षहरू, जिल्ला स्वास्थ्य कार्यालयकी प्रतिनिधि प्रतिभा सिंह, एनजिओ संघका दिलिप पाण्डे, समाजसेवी धर्मेन्द्र झा, कांग्रेस नेता बजरङ्ग नेपालीलगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बाल क्लबका बालिकाहरूले स्थानीय संस्कृतिको झल्को दिने आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए।
स्वागत मन्तव्य दिँदै संस्थाका कार्यकारी निर्देशक बैथनाथ चौधरीले क्लबले ३४ औं वर्ष पूरा गरी ३५ औं वर्षमा प्रवेश गरेकोमा सबै सदस्य तथा सहयोगीहरूलाई धन्यवाद दिए। उनले संस्थाले समाजमा सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र पिछडिएका वर्गको हकहितमा निरन्तर काम गर्दै आएको र आगामी दिनमा पनि यो अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने बताएका थिए।
महोत्तरी गाउँपालिका अध्यक्ष दिलिप पाण्डेले आफ्नो मन्तव्यमा संस्थाको ऐतिहासिक योगदानको प्रशंसा गर्दै भने, “हामी कक्षा आठमा हुँदा यो संस्था दर्ता भएको थियो। त्यो समय पञ्चायत शासन थियो, तर संस्थाले त्यस्तो कठिन समयमा पनि समाजका लागि महत्वपूर्ण योगदान दिएको थियो।” उनले आगामी दिनमा पनि संस्थाले शिक्षा, बालबालिका र ज्येष्ठ नागरिकका विषयमा सक्रिय रहोस् भन्ने शुभकामना व्यक्त गरे।
कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम अधिकृत राजेश पाण्डेले गरेका थिए। कार्यक्रम समापनसँगै क्लबले आफ्नो विगत वर्षको आर्थिक विवरण र प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्दै आगामी वर्षका योजनाहरू सार्वजनिक गरेको थियो।






