जनकपुरधाम — सूर्योदय नगरपालिका–१, गोर्खे बजारमा आइतबार बिहान देखिएको दृश्यले सिंगो बस्ती नै स्तब्ध बनायो। गर्भवती काली गाईलाई गोठमै धारिलो हतियारले निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा फेला परेपछि स्थानीयमा आक्रोश र त्रास फैलिएको छ।
दीपेश मोदी र उनकी पत्नी सुशिला अधिकारी जब गोठ पुगे, गाई रगतले लत्पतिएको अवस्थामा लडिरहेको थियो। अन्य गाईबस्तु सुरक्षित रहँदा एउटै गाईलाई लक्षित गरेर घाँटी र टाउकोमा पटक–पटक प्रहार गरिएको देखिएको छ, जसले घटनालाई अझ रहस्यमय बनाएको छ।
गत वर्ष ७५ हजार रुपैयाँमा किनेको उक्त गाई साउनमा ब्याउने अवस्थामा रहेको थियो। यो केवल पशु हत्या होइन, क्रूरता र अपराधको चरम रूप हो, भन्दै दीपेशले घटनाको गम्भीर छानबिनको माग गरेका छन्।
घटनापछि वडा, पालिका र प्रहरी तत्काल सक्रिय भए पनि हालसम्म कसैमाथि ठोस शंका गरिएको छैन। इलाका प्रहरी कार्यालय पशुपतिनगरका निमित्त प्रमुख जीवनकुमार कार्कीका अनुसार पशु चिकित्सकको टोलीले पोस्टमार्टम सम्पन्न गरी गाईको सद्गत गरिएको छ र अनुसन्धान जारी छ।






