दोस्रो महाधिवेशनलाई भव्यताका साथ सफल पारौँ : जनमत उपाध्यक्ष डा. राउत

२०८३ भाद्र ३१, बुधबार ०८:०२

जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनलाई संगठनात्मक पुनर्जागरण र नयाँ राजनीतिक यात्राको महत्वपूर्ण आधार बनाउँदै पूर्ण उत्साह, एकता र ऊर्जाका साथ सफल बनाउन सम्पूर्ण नेता–कार्यकर्तालाई आह्वान गर्नुभएको छ।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन असोज ९ र १० गते वीरगञ्जमा आयोजना हुँदैछ। पार्टीको महाधिवेशन निर्देशिकाअनुसार महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो। यसले केन्द्रीय नेतृत्व तथा केन्द्रीय कार्यकारिणी चयन गर्नुका साथै विधान संशोधन तथा राजनीतिक र आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ।

डा. राउतले महाधिवेशनलाई नेतृत्व चयन गर्ने नियमित सांगठनिक प्रक्रियामा मात्र सीमित नगरी विगतको समीक्षा, कमजोरीको पहिचान, संगठनको पुनर्गठन र आगामी राजनीतिक यात्राको स्पष्ट कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ।

उहाँले महाधिवेशनलाई “समीक्षा, सुधार, पुनर्गठन र पुनर्जागरणको अभियान” का रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ।

“महाधिवेशन भनेको पद र जिम्मेवारीको बाँडफाँट मात्र होइन। यो संगठनले आफूलाई पुनःमूल्याङ्कन गर्ने, कमजोरी सच्याउने र नयाँ ऊर्जा तथा संकल्पका साथ अगाडि बढ्ने महत्वपूर्ण अवसर हो,” डा. राउतले भन्नुभएको छ।

उहाँले निर्वाचन तथा राजनीतिक यात्राबाट प्राप्त अनुभवलाई संगठन निर्माणको आधार बनाउनुपर्नेमा जोड दिँदै जनताको विश्वासलाई थप बलियो बनाउने गरी संगठनात्मक क्षमता र जनसम्बन्ध विस्तार गर्नुपर्ने बताउनुभएको छ।

महाधिवेशन सफल बनाउने जिम्मेवारी सबैको

संगठन विभाग प्रमुखसमेत रहनुभएका डा. राउतले महाधिवेशन सफल बनाउने जिम्मेवारी केन्द्रीय नेतृत्व वा आयोजक समितिको मात्र नभएको स्पष्ट पार्नुभएको छ।

“महाधिवेशन हाम्रो साझा उत्सव हो, साझा जिम्मेवारी हो र साझा भविष्य निर्माण गर्ने अवसर हो,” उहाँले भन्नुभएको छ।

उहाँले वडा तहदेखि जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मका सबै नेता–कार्यकर्तालाई महाधिवेशन सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ। महाधिवेशनका लागि आवश्यक सांगठनिक तयारी, प्रतिनिधि व्यवस्थापन, सदस्यता नवीकरण, अधिवेशनका बाँकी प्रक्रिया, प्रचार–प्रसार तथा व्यवस्थापनका कामलाई उच्च प्राथमिकताका साथ सम्पन्न गर्न उहाँले निर्देशन दिनुभएको छ।

पार्टीको निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधि तथा निर्वाचनसम्बन्धी विभिन्न प्रक्रिया अघि बढाइएको जनाइएको छ।

“संगठनको वास्तविक शक्ति कार्यकर्ताको ऊर्जा हो”

डा. राउतले जनमत पार्टीको वास्तविक शक्ति नेता–कार्यकर्ता र जनतासँगको प्रत्यक्ष सम्बन्धमा रहेको बताउनुभएको छ।

“कुनै पनि राजनीतिक दलको शक्ति केवल कार्यालय, पदाधिकारी वा दस्तावेजमा हुँदैन। संगठनको वास्तविक शक्ति गाउँ–टोलमा खटिने कार्यकर्ता, जनताको सुख–दुःखमा साथ दिने संगठन र जनताको विश्वासमा हुन्छ,” उहाँले भन्नुभएको छ।

महाधिवेशनपछि संगठनलाई अझ सक्रिय, अनुशासित, परिणाममुखी र जनतामुखी बनाउने गरी नयाँ कार्यशैली विकास गर्नुपर्ने उहाँको जोड छ।

विगतको समीक्षा र कमजोरीबाट शिक्षा

डा. राउतले विगतका राजनीतिक तथा निर्वाचन अनुभवलाई वस्तुनिष्ठ ढंगले समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

“हामीले कहाँ सफलता प्राप्त गर्‍यौँ, कहाँ कमजोर भयौँ र कहाँ सुधार गर्न आवश्यक छ भन्ने कुरा इमानदारीपूर्वक समीक्षा गर्नुपर्छ। समीक्षा कसैलाई दोष लगाउनका लागि होइन, आगामी यात्रा अझ बलियो बनाउनका लागि हो,” उहाँले भन्नुभएको छ।

चुनावी परिणाम वा राजनीतिक चुनौतीलाई निराशाको कारण बनाउनुभन्दा त्यसबाट शिक्षा लिएर संगठनलाई थप सुदृढ बनाउनु आवश्यक रहेको उहाँको भनाइ छ।

विचार,संगठन र जनसम्बन्धलाई प्राथमिकता

डा.राउतले पार्टीको आगामी यात्रामा विचार,संगठन र जनसम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ।

पार्टीका राजनीतिक मुद्दालाई जनताको दैनिक जीवनसँग जोड्दै किसान, युवा, महिला, श्रमिक, शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन तथा सामाजिक न्यायका विषयलाई प्रभावकारी रूपमा उठाउनुपर्ने उहाँको धारणा छ।

मधेशका मुद्दालाई राष्ट्रिय विकास र समृद्धिको एजेन्डासँग जोड्दै मधेशको अधिकारसँगै समग्र नेपालको समृद्धिका लागि प्रभावकारी राजनीतिक शक्ति निर्माण गर्नुपर्ने उहाँले बताउनुभएको छ।

नयाँ पुस्तालाई अवसर र जिम्मेवारी

महाधिवेशनले नयाँ पुस्तालाई संगठनको नेतृत्व तथा निर्णय प्रक्रियामा थप जिम्मेवारी दिने वातावरण निर्माण गर्नुपर्नेमा पनि डा. राउतले जोड दिनुभएको छ।

पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा प्रविधिलाई संयोजन गरेर आधुनिक र प्रभावकारी राजनीतिक संगठन निर्माण गर्न सकिने उहाँको भनाइ छ।

पार्टीको महाधिवेशन निर्देशिकाले केन्द्रीय कार्यकारिणीमा ४० वर्षमुनिका युवाको एकतिहाइ प्रतिनिधित्व तथा महिलाको एकतिहाइ सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ।

महाधिवेशनपछि संगठन थप सुदृढ बनाउनुपर्ने

डा. राउतले महाधिवेशनको सफलता महाधिवेशनस्थलमा देखिने भीड वा कार्यक्रमको भव्यताले मात्र निर्धारण नहुने बताउनुभएको छ।

“महाधिवेशनपछि हाम्रो संगठन कति सक्रिय भयो, जनतासँग हाम्रो सम्बन्ध कति बलियो भयो र आगामी राजनीतिक चुनौती सामना गर्न हामी कति सक्षम भयौँ—त्यसबाट महाधिवेशनको वास्तविक सफलता मापन हुन्छ,” उहाँले भन्नुभएको छ।

महाधिवेशनपछि वडा–टोलसम्म संगठनलाई थप सुदृढ गर्दै निरन्तर जनसम्पर्क, राजनीतिक प्रशिक्षण, संगठन विस्तार र जनमुखी अभियान सञ्चालन गर्नुपर्ने उहाँको जोड छ।

एकता,अनुशासन र ऊर्जाका साथ अघि बढ्न आह्वान

महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीभित्र स्वस्थ लोकतान्त्रिक बहस र प्रतिस्पर्धा स्वाभाविक भए पनि महाधिवेशनपछि सम्पूर्ण नेता–कार्यकर्ता एउटै उद्देश्यमा एकताबद्ध भएर अघि बढ्नुपर्ने डा. राउतले बताउनुभएको छ।

“प्रतिस्पर्धा महाधिवेशनसम्म हो, तर संगठन निर्माणको यात्रा महाधिवेशनपछि अझ तीव्र हुन्छ,” उहाँले भन्नुभएको छ।

व्यक्तिगत आग्रह,पूर्वाग्रह र गुटगत सोचभन्दा माथि उठेर पार्टीको विचार,संगठन र जनताको हितलाई केन्द्रमा राख्न उहाँले सबै नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ।

वीरगञ्जबाट नयाँ राजनीतिक सन्देश दिने लक्ष्य

वीरगञ्जमा आयोजना हुने दोस्रो राष्ट्रिय महाधिवेशनले पार्टीको आगामी राजनीतिक यात्राका लागि महत्वपूर्ण सन्देश दिन सक्ने बताउँदै डा. राउतले महाधिवेशनलाई “नयाँ संकल्प र नयाँ सुरुवातको बिन्दु” बनाउनुपर्ने बताउनुभएको छ।

“वीरगञ्जबाट हामीले संगठनलाई नयाँ ऊर्जा दिने,जनतासँगको सम्बन्ध अझ बलियो बनाउने र देशको परिवर्तन तथा समृद्धिका लागि अझ प्रभावकारी राजनीतिक शक्ति निर्माण गर्ने संकल्प गर्नुपर्छ,” उहाँले भन्नुभएको छ।

उहाँले देशभरका नेता, कार्यकर्ता, प्रतिनिधि, शुभेच्छुक तथा समर्थकलाई पूर्ण उत्साह र ऊर्जाका साथ महाधिवेशन सफल बनाउन परिचालित हुन विशेष आह्वान गर्नुभएको छ।

“अबको समय निराश हुने होइन, संगठनलाई थप बलियो बनाउने समय हो। अबको समय एकअर्कालाई कमजोर बनाउने होइन, एकअर्काको क्षमता जोडेर पार्टीलाई बलियो बनाउने समय हो। सबै साथीहरू पूर्ण उत्साह,अनुशासन र ऊर्जाका साथ महाधिवेशन सफल बनाउन जुटौँ,” डा. राउतले आह्वान गर्नुभएको छ।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन असोज ९–१०, २०८३ मा वीरगञ्जमा हुँदैछ। पार्टीको निर्देशिकामा असोज १० गते महाधिवेशन तथा मतदान र असोज ११ गते मतगणना तथा परिणाम घोषणा गर्ने कार्यतालिका उल्लेख छ।

अबको मूल संकल्प समीक्षाबाट सुधार,सुधारबाट पुनर्गठन,पुनर्गठनबाट पुनर्जागरण,र पुनर्जागरणबाट विजय।

यही संकल्पका साथ दोस्रो राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता जुट्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?