जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउत ले वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले नेपाली जनताको अवस्था “तावाबाट उफ्रिएको माछो भुङ्ग्रोमा खसेको” जस्तै भएको टिप्पणी गर्दै एउटा समस्याबाट मुक्ति खोज्ने क्रममा जनता अझ ठूलो समस्यामा परेको बताएका हुन्।
उनले डार्क पीआर र अल्गोरिदमको प्रयोगमार्फत जनतालाई भ्रमित पारेर षड्यन्त्रपूर्ण ढंगले सरकार सत्तामा पुगेको आरोप लगाए। उनका अनुसार सरकारको वास्तविकता र नियत आमजनताले छोटो समयमै बुझिसकेको दाबी छ।
डा. राउतले सरकारको कार्यशैलीलाई तानाशाही र दमनकारीको संज्ञा दिँदै जनतामा व्यापक असन्तुष्टि र आक्रोश बढ्दै गएको बताए। उनले सरकारलाई दिएको मतप्रति जनता पछुतो मान्न थालेको तथा आफ्नो मत फिर्ता माग्ने अवस्था सिर्जना भएको उल्लेख गरे।
उनले डार्क पीआर र अल्गोरिदमको प्रयोग तत्कालका लागि फाइदाजनक देखिए पनि दीर्घकालमा संगठन तथा व्यक्तिको विश्वसनीयता नष्ट गर्ने दाबी गरे। साथै, उनले स्वाधीन र सचेत नागरिकलाई सुझबुझका साथ वर्तमान अवस्थाको निकास खोज्न आग्रह गरेका छन्।






