जनकपुरधाम : धनुषाका टिकटकमा ‘न्यू स्टार’ नामले चर्चित अमित यादव पक्राउ परेका छन्। अमित यादव लाई युवतीलाई आत्महत्या गर्न दुरुत्साहन दिएको आरोपमा सप्तरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
धनुषाको गणेशमानचारनाथ नगरपालिका–८ चितहा लवटोली (पोर्ताहा) निवासी २७ वर्षीय अमित यादवलाई धनुषा प्रहरीको समन्वयमा सिरहाबाट पक्राउ गरी सप्तरी लगिएको प्रहरीले जनाएको छ।
टिकटकमा अश्लील गालीगलौज र अभद्र गतिविधिका कारण चर्चामा आएका यादवमाथि यसपटक ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। एक युवतीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको बताइएको छ।
प्रहरीका अनुसार उनलाई आज बिहानै घरबाट नियन्त्रणमा लिइएको हो। यसअघि पनि अभद्र व्यवहार तथा सामाजिक सञ्जालमार्फत अश्लील सामग्री प्रसारण गरेको आरोपमा उनी पटक–पटक पक्राउ परिसकेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






