काठमाडौं — अर्थमन्त्री स्वर्णिम वाग्ले ले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला आफू निदाएको भन्ने चर्चा वास्तविकता नभएको बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमा भाइरल बनाइएको दृश्यप्रति स्पष्टीकरण दिएका हुन्। उनले भने, “हिजो अर्थमन्त्री निदायो भनेर धेरै चर्चा गरियो। तर जे देखिन्छ, त्यो सधैं यथार्थ हुँदैन। मलाई केही अर्जेन्ट म्यासेज आइरहेका थिए। राष्ट्रपतिसामु मोबाइल सीधै हेर्न नमिल्ने भएकाले निहुरिएर म्यासेज हेरिरहेको थिएँ।
उनले कुनै दृश्य वा तस्बिरकै आधारमा तत्काल निष्कर्षमा नपुग्न आग्रह समेत गरे।
सोमबार रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा अर्थमन्त्री वाग्ले निदाएको जस्तो देखिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो।






