जनकपुरधाम ।जनकपुर–ढल्केबर सडक खण्ड अन्तर्गत वाटर पार्क अगाडि रहेको सडक क्षेत्रमा सुरक्षाका लागि जडान गरिएको फलामे रेलिङ काटेर निजी प्रयोजनका लागि प्रयोग गरिएको पाइएको छ। स्थानीयका अनुसार रेलिङ काटिएको स्थानबाट आफ्नो जग्गामा माटो भर्ने तथा घर निर्माणका सामग्री बालुवा, गिट्टी, ईटा लगायतका सामान ओसारपसार गर्न सवारी साधन प्रवेश गराउने गरिएको देखिएको हो।
स्थानीयवासीका अनुसार उक्त क्षेत्र पहिले देखि नै दुर्घटनाको उच्च जोखिममा रहेको ठाउँ हो। सडकमा घुमाउरो मोड रहेको र सवारीको तीव्र गति हुने भएकाले त्यहाँ बारम्बार दुर्घटना हुने गरेको उनीहरूको भनाइ छ। यस्तो संवेदनशील स्थानमै रेलिङ काटेर व्यक्तिगत प्रयोग गर्नु गैरजिम्मेवार कार्य भएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्।
यस विषयमा सडक डिभिजन कार्यालयसँग बुझ्दा कार्यालय प्रमुख दरोगा प्रसाद शाह ले आफूलाई घटनाबारे जानकारी रहेको बताएका छन्। उनका अनुसार रातिको समयमा मौका छोपेर चोरी शैलीमा रेलिङ काटिएको देखिएको छ।
उनले भने, “यहाँ जनचेतनाको कमीका कारण यस्ता गतिविधि भइरहेका छन्। सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउने काम भएको छ। यस विषयमा जिल्ला प्रहरी कार्यालयमा जानकारी तथा निवेदन दिइसकिएको छ, तर हालसम्म ठोस पहल भएको छैन।
सडक सुरक्षासँग प्रत्यक्ष जोडिएको संरचना नै काटखुट गरिँदा ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। यदि यस्ता गतिविधिलाई समयमै नियन्त्रण नगरिए अन्य स्थानमा पनि व्यक्तिले मनपरी ढंगले रेलिङ काट्ने क्रम बढ्न सक्ने उनीहरूको भनाइ छ।
स्थानीयहरूले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने तथा चोरी गरी रेलिङ काट्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। साथै काटिएको रेलिङ तत्काल पुनः निर्माण गरी सडक सुरक्षालाई प्रभावकारी बनाउन पनि उनीहरूले आग्रह गरेका छन्।






