राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : लचिलो कार्यदिशा, बाह्य क्षेत्र बलियो

२०८३ जेष्ठ १, शुक्रबार २१:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको सुरुवातदेखि नै अवलम्बन गर्दै आएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई यस समीक्षामा पनि निरन्तरता दिएको छ।

विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप नै रहने प्रक्षेपणका साथै मुलुकको न्यून आर्थिक वृद्धिको स्थितिलाई दृष्टिगत गर्दै बैंकले पुरानै कार्यदिशालाई कायम राखेको हो।

यसैगरी राष्ट्र बैंकले विद्यमान नीतिगत दरहरूमा कुनै परिवर्तन गरेको छैन। ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थाहरूलाई यथावत् राखिएको छ भने ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधाको व्यवस्थालाई भने पुनरवलोकन गरिने प्रतिवेदनमा उल्लेख छ।

समीक्षा अवधिमा मुलुकको मूल्यवृद्धि वाञ्छित सीमाभित्रै रहेको पाइएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा औसत उपभोक्ता मुद्रास्फीति २ दशमलव ३९ प्रतिशत रहेको छ, जुन ५ प्रतिशतभित्र सीमित राख्ने राष्ट्र बैंकको लक्ष्यभित्रै पर्दछ।

यद्यपि २०८२ सालको चैत महिनामा भने वार्षिक बिन्दुगत मुद्रास्फीति ४ दशमलव ४७ प्रतिशत पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानलाई उद्धृत गर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत रहने जनाएको छ।

यसअन्तर्गत कृषि क्षेत्रको वृद्धिदर १ दशमलव ५८ प्रतिशत, उद्योग क्षेत्रको १ दशमलव ६७ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४ दशमलव २१ प्रतिशत कायम हुने अनुमान गरिएको छ।

पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्र निकै सहज र मजबुत स्थितिमा देखिएको छ। चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाहमा ३९ दशमलव १ प्रतिशतको उच्च वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।

रेमिट्यान्समा आएको यही उछालका कारण चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँले र शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ।

फलस्वरूप मुलुकको विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दु अर्थात् ३४ खर्ब ९४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यो सञ्चितिले १८ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको दाबी छ।

अर्कातर्फ यस अवधिमा कुल वस्तु निर्यात १८ दशमलव ५ प्रतिशतले र आयात १३ दशमलव ८ प्रतिशतले वृद्धि हुँदा कुल वस्तु व्यापार घाटा १३ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

बैंकिङ प्रणालीमा न्यून ब्याजदरसहित लगानीयोग्य तरलता पर्याप्त रहेको समीक्षाले देखाएको छ। गत चैत महिनामा निक्षेपको भारित औसत ब्याजदर वाणिज्य बैंकहरूको ३ दशमलव ४० प्रतिशत, विकास बैंकहरूको ३ दशमलव ७७ प्रतिशत र वित्त कम्पनीहरूको ४ दशमलव ७४ प्रतिशत कायम भएको छ।

कर्जा प्रवाहको लागत घट्दा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर पनि ६ दशमलव ७७ प्रतिशतमा झरेको छ। यो नौ महिनाको अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ५ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ।

तरलताको स्थिति लगातार लामो समयसम्म अधिक रहँदा त्यसले विभिन्न समष्टिगत आर्थिक परिसूचकमा पर्न सक्ने सम्भावित प्रभावप्रति केन्द्रीय बैंक सजग रहेको समेत समीक्षामा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?