
जलेश्वर, महोत्तरी। प्रादेशिक अस्पताल जलेश्वरको अवस्था सुधार गर्न स्थानीय युवाहरूले संगठित रूपमा पहल थालेका छन्। अस्पतालमा देखिएका पूर्वाधार, जनशक्ति तथा सेवा प्रवाहका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन युवाहरूको टोलीले मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ।
आकाश कुमार साहको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले अस्पताललाई क्षेत्रीय स्तरको प्रभावकारी स्वास्थ्य केन्द्रका रूपमा विकास गर्न आवश्यक योजना तत्काल अघि बढाउन आग्रह गरेको हो। टोलीमा जलेश्वर नगरपालिका–२ का वडाध्यक्ष, रास्वपा जलेश्वर नगर सभापति अजय चौधरी, नेविसंघका केन्द्रीय सदस्य आशुतोष झा, विजय राय तथा युवा अभियन्ता बादल साहलगायतको सहभागिता रहेको थियो।
ज्ञापनपत्रमा अस्पतालमा नर्सिङ कलेज सञ्चालनदेखि १०० शय्याको स्थायी स्वीकृति, अधुरो भवन निर्माण सम्पन्न, चिकित्सक तथा नर्सका लागि आवास व्यवस्था, अक्सिजन प्लान्ट सञ्चालन, एम्बुलेन्स र शववाहन उपलब्धता, फोहोर व्यवस्थापन तथा निःशुल्क औषधिको नियमित आपूर्तिसम्मका विषय समेटिएका छन्।
युवाहरूले अस्पताल महोत्तरी मात्र नभई आसपासका जिल्लाका हजारौं नागरिकको उपचार केन्द्र भए पनि आवश्यक स्रोत–साधन र जनशक्तिको अभावका कारण अपेक्षित सेवा दिन नसकेको बताएका छन्। उनीहरूले स्वास्थ्य क्षेत्रको सुधारका लागि नागरिक तहबाट निरन्तर खबरदारी र सहकार्य जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
स्वास्थ्य मन्त्रीले ज्ञापनपत्रमा उठाइएका विषय अध्ययन गरी सम्भव भएका मागहरू आगामी योजना तथा बजेटमा समावेश गर्न पहल गर्ने आश्वासन दिएको टोलीले जनाएको छ।
स्थानीय स्तरमा स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि युवाहरू स्वयं अग्रसर भएर सरकारलाई दबाब दिन थालेपछि जलेश्वरमा यस अभियानलाई सकारात्मक नागरिक हस्तक्षेपको रूपमा हेरिएको छ।






