जनकपुरधाम: सिरहामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोर्न तथा अनियमितता गर्न प्रयोग गरिएका १ करोड रुपैयाँभन्दा बढी मूल्यका ४९६ थान मोबाइल फोन र ५ वटा स्मार्टवाच नष्ट गरिएको छ।
गत चैतमा सम्पन्न एसईई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट ७ वटा आईफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल तथा ५ वटा स्मार्टवाच बरामद गरिएको थियो। तत्कालीन मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले परीक्षा अनियमिततामा प्रयोग भएका मोबाइल नष्ट गर्ने घोषणा गरेपछि जिल्ला परीक्षा समन्वय समिति सिरहाले आवश्यक प्रक्रिया अघि बढाएको थियो।

शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका प्रमुख राजदेव यादवको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो। सोही उपसमितिको निर्णयअनुसार जिल्ला प्रहरी कार्यालय परिसरमा बरामद मोबाइल तथा स्मार्टवाचहरू नष्ट गरिएको हो।

उपसमिति संयोजक यादवका अनुसार मोबाइलहरूलाई करिब २४ घण्टा पानीमा डुबाएर राखिएको थियो। त्यसपछि पूर्ण रूपमा प्रयोग गर्न नसकिने गरी नष्ट गरिएको उनले जानकारी दिए। केही आईफोन तथा अन्य मोबाइलहरू पानीमा राख्दा नै बिग्रिएका थिए भने बाँकी उपकरणलाई थप प्रक्रिया अपनाएर नष्ट गरिएको बताइएको छ।
एसईई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षा हलभित्रबाट निगरानी टोलीले बरामद गरेका मोबाइल तथा स्मार्टवाचहरू जिल्ला परीक्षा समन्वय समितिको निर्णय र प्रदेशस्तरीय नीतिअनुसार नष्ट गरिएको जनाइएको छ।
मधेश प्रदेशमा विद्यार्थीबाट बरामद गरिएका यति ठूलो परिमाणका मोबाइल उपकरण एकैपटक नष्ट गरिएको यो पहिलो घटना भएको बताइएको छ। परीक्षा प्रणालीलाई मर्यादित, निष्पक्ष र प्रविधिको दुरुपयोगमुक्त बनाउन यस्तो कदम चालिएको सम्बन्धित निकायको भनाइ छ।






