वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

२०८३ जेष्ठ २१, बिहीबार १२:३५

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका(३ बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी गाउँपालिका(२ घर भएका २६ वर्षीय निमा तामाङ, काठमाडौं महानगरपालिका(३२ बस्ने महोत्तरी बर्दिबास नगरपालिका(६ घर भएका २४ वर्षीय विवेक साह, काठमाडौं चन्द्रागिरी नगरपालिका(१ बस्ने सप्तरी राजविराज नगरपालिका(८ घर भएका ५२ वर्षीय उज्वल कुमार थापा र काठमाडौं महानगरपालिका(९ बस्ने तेह्रथुम लालिगुराँस नगरपालिका(५ घर भएका ३५ वर्षीय खेमबहादुर बस्नेत रहेका छन् ।

पक्राउ परेकामध्ये निमाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख ८५ हजार रूपैयाँ, विवेकले जर्जिया, माल्टा लगायतका देश पठाइदिन्छु भन्दै २ जना पीडितबाट ६ लाख ३५ हजार रूपैयाँ, उज्वलले हंगेरी र रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितबाट ९ लाख ६२ हजार रूपैयाँ र खेमबहादुरले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ ठगेको प्रहरीले जनाएको छ ।

उनीहरू रकम लिएर सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निमालाई काठमाडौं महानगरपालिका(६ बाट, विवेकलाई काठमाडौं महानगरपालिका(१० बाट र उज्वललाई काठमाडौं महानगरपालिका(३१ बाट मंगलबार तथा खेमबहादुरलाई काठमाडौं महानगरपालिका(११ बाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये निमा र विवेकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने उज्जवल र खेमबहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?