‘कबड्डी ३’ र ‘दुई नम्बरी’ हिट भएपछि उपासनाले बढाइन् पारिश्रमिक

२०७९ पुष २०, बुधबार १८:११

काठमाडौं । वर्ष २०७९ मा अभिनेत्री उपासना सिंह ठकुरी अभिनित फिल्म ‘दुई नम्बरी’ सुपरहिट बन्यो । फिल्म हिट भएपछि उपासनाले पारिश्रमिकमा वृद्धि गरेकी छन् । यसअघि उनी अभिनित ‘कबड्डी ३’ सुपरहिट भएको थियो । उनले पारिश्रमिक बढाउने निर्णय गरेपछि ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीको आगामी फिल्म ‘हात्तीछाप’मा महिला प्रमुख पात्रको कास्टिङमा ढिलाइ भएको छ ।

‘दुई नम्बरी’मा ६ लाख रुपैयाँमा काम गरेकी उपासनाले पारिश्रमिक बढाएर १० लाख हाराहारीमा मागेपछि निर्माता नेपालीले साइन गर्न सकेका छैनन् । यद्यपि उपासनालाई नै नायिकाको रुपमा लिने उनले बताए ।

‘उहाँले पहिलेको भन्दा केही बढाएर पारिश्रमिक दिनुस् भनेपछि कास्टिङको काममा केही ढिलाइ मात्र भएको हो । रोकिएको होइन । यो कुरा मिलाएर चाँडै नायिका तय गर्छौं,’ निर्माता नेपालीले अनलाइनखबरसँग भने । एक्सन–थ्रिलर फिल्म हात्तीछापमा निर्माता नेपाली अघिल्लो प्रोजेक्ट दुई नम्बरीकै कलाकारलाई दोहोर्‍याउन चाहन्छन् ।

जसअनुसार सौगात मल्ल र दयाहाङ राईले पारिश्रमिकको सट्टामा फिल्मको नाफाको ४० प्रतिशत सेयर बाँडफाँटको सर्तमा फिल्म खेल्ने फाइनल भएको जानकारी पनि उनले दिए । यी दुईसहित फिल्मका लेखक प्रदीप भारद्वाज र निर्देशक सिमोस सुनुवारले पनि ४० प्रतिशत सेयर बाँडफाँटमा काम गर्ने सम्झौता भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?